नाकाबन्दी तथा तराई आन्दोलनका कारण स्वतन्त्रपूर्वक लेखपढ गर्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै विद्यार्थीहरुद्धारा राजधानीको चक्रपथ घेराउ
मंसिर ११ गते, २०७२ मा प्रकाशित
भारतले गरेको नाकाबन्दी तथा तराई-मधेसमा जारी आन्दोलनका कारण स्वतन्त्रपूर्वक लेखपढ गर्न पाउने अधिकारबाट आफूहरु बञ्चित भएको भन्दै विद्यार्थीहरुले आज राजधानीको चक्रपथ घेराउ गरेका छन् ।
उपत्यकाका काठमाडौं, ललितपुर तथा भक्तपुरका दर्जनौं विद्यालयका विद्यार्थीहरुले उपत्यकाभित्रको २७ किलोमिटर लामो चक्रपथमा मानव साङ्लो बनाई नाकाबन्दीको सांकेतिक रुपमा विरोध गरेका हुन् ।
निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन, एनप्याब्सन तथा उच्च माध्यमिक शिक्षा परिषद् (हिसान) लगायतको संयुक्त आयोजनामा काठमाडौं, ललितपुर र भक्तपुरका दर्जनौं विद्यालयका हजारौं विद्यार्थीहरु धर्ना तथा घेराउमा सहभागी भएका थिए ।
बिहान ११ बजेदेखि शुरुभएको चक्रपथ घेराउ कार्यक्रम एकघण्टा भन्दा बढी समयसम्म चलेको थियो । धर्नामा बसेका विद्यार्थीहरुले नाकाबन्दी फिर्ता गर, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर, स्वतन्त्रपूर्वक बाँच्न र पढ्न पाउने अधिकार सुनिश्चित गर, नेताहरु भाषण होइन काम गरेर देखाऊ जस्ता नाराहरु उल्लेख गरिएका प्लेकार्ड बोेकेका थिए ।
विद्यार्थीहरुले दिएको धर्ना तथा घेराउका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अवरुद्ध भएको थियो । विद्यार्थीहरुको धर्नामा विद्यालयका शिक्षक तथा कतिपय स्थानमा अभिभावकहरु पनि सहभागी थिए । इमेजखबरमा समाचार छ ।