नेपाली कांग्रेसका मधेसी सांसदहरुले प्रमुख दलहरुलाई मधेस मुद्दामा साझा धारणा बनाउन सुझाव दिएका छन् ।
मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग कांग्रेसले शनिबार राजधानीमा गरेको छलफलमा उनीहरुले मधेस मुद्दाका विषयमा प्रमुख दलले साझा धारणा बनाउन नसक्दा समस्या झन् जटिल बन्दै गएको भन्दै नेतृत्वको आलोचना गरेका हुन् ।
कांग्रेसका मधेसी सांसदहरुले मधेसको मुद्दा राजनीतिक भएकाले राजनीतिकरुपमै समस्या समाधान गर्नुपर्ने बताए ।
उनीहरुले समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै संसदको ठूलो दलको हैसियतले त्यसको नेतृत्व लिन कांग्रेसको नेतृत्वलाई आग्रह गरे ।
त्यसक्रममा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मधेसमा जारी आन्दोलनको सम्बोधन गर्न ढिलाइ गर्न नहुने भन्दै समाधानको सुझाव दिन आग्रह गरेका थिए ।
सांसदहरुले दिएकै सुझावका आधारमा पार्टी नेतृत्वले स्पस्ट धारणा सार्वजनिक गर्ने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।