कृष्ण खनाल
बुटवल । बुटवलवासीहरुको लागि बहुप्रतिक्षित योजनामा रहेको पाल्पाको झुम्सा खोला खानेपानी योजना निर्माणमा कुनै अवरोध नभएमा ३ महिनामा बुटवल सम्म ल्याउन सकिने खानेपानी संस्थान बुटवलले जनाएको छ । यद्यपी बर्षौ देखि बुटवलमो मेलम्ची को उपमा पाएको यो योजना ३ महिनामा पुरा हुनेमा भने स्यवम उपभोक्ताहरु नै विश्वतहुन सकेका छैनन् ।
आज भन्दा करिव १९ बर्ष पहिला वि.स.२०५३ सालमा सुरु गरिएको उक्त खानेपानी आयोजनाको अहिले ७० प्रतिशत काम पुरा भएको नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्ट बताउछन् । उनका अनुसार अहिले खानेपानीको लागि मुलमा टैकी निर्माण देखि लिएर पहिला नै ५ किलोमिटर पाईप विच्याइएको छ । त्यस्तै पाईप विच्याउन बाँकी करिव ३ हजार २ सय ७० मिटर मध्ये २ हजार ८७ मिटर पाईप विच्याउने काम समेत सम्पन्न भएको छ ।
वि.स. २०५३ सालमा ४ करोड रुपैया लागतको सिस्ने खोला खानेपानी योजना त्यतिकै विलाएर गएपछि सुरु भएको झुम्सा खोला खानेपानी आयोजना केही महिनामा पुरा हुने अपेक्षा लिइएको हो । बुटवल वासीहरुलाई दैनिक ८० लाख देखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार सुरु भएको उक्त खानेपानी आयोजनको मुहानदेखि ३ हजार २ सय ७० मिटर पाईप २० ईन्चको र त्यपछि ५ किलोमिटर झुम्सा खोला पुल सम्म १० ईन्चको पाईप विच्छयाइएको छ । १९ करोड ५६ लाख रुपैया लागत रहेको सो आयोजना २०६८ सालको असारभीत्र सक्ने लक्ष्य लिईएको उक्त योजना अहिले सम्म पनि पुरा हुन सकेको छैन ।
बुटवलको मेलम्चीको रुपमा व्यख्या गर्दै आएको उक्त खानेपानी आयोजनको लागि नेपाल सरकारका मन्त्रीहरुको समेत चासो बढ्दै गएको छ । रुपन्देही क्षेत्र नम्बर ४ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले दोभान गाविसको विकास गर्न आफुले कुनै पनि कसर बाँकी नराख्ने तर खानेपानी आयोजना पुरा गर्नको लागि दोभानबासीहरुले भरपूर्ण सहयोग गर्नुपर्ने बताउछन् ।
दोभान गाविसका पुर्व गाविस अध्यक्ष लक्ष्मण थापाले दोभान गाविसलाई खानेपानी उपभोग गरे बापत नेपाल खानेपानी संस्थानले बार्षिक रुपमा १० लाख रुपैयाँ सहयोग गर्नुपर्ने बताउछन् । दोभान गाविस-५ मा अहिले पनि खानेपानीको समस्या रहेको भन्दै त्यो समस्या सामाधानको लागि पनि सहयोग हुनुपर्ने उनको माग रहेको छ । तर अर्थमन्त्री विष्णु पौडेलले बुटवलको खानेपानी समस्या समाधानको प्रमुख विकल्पको रुपमा रहेको झुम्सा खोला खानेपानी आयोजना रोक्न नहुने बताउछन् । उनी भन्छन्- खानेपानी बुटवल लैजानको लागि तपाईहरुले यत्रो त्याग गर्नुभएकोछ, दोभानको विकासको लागि मैले कुनै पनि कसर बाँकी राख्ने छैन् ।
यता नेपाल सरकारका उद्योग मन्त्री तथा पाल्पा क्षेत्र नम्बर-३ सांसद सोम प्रसाद पाण्डेले दोभानवासीका समस्या पाल्पाकै समस्या भएको भन्दै दोभानको समस्या समाधानको लागि आफुले कुनै पनि मुल्य चुकाउनसमेत तयार भएको बताउछन् । उनी भन्छन्- दोभानको विकास हुनु भनेको पाल्पाको विकास हुनु हो, पाल्पाको जनप्रतिनिधको हैसियतले म सहयोग गर्न तयार छु ।
नेपाल खानेपानी संस्थान बुटवलका अनुार पाल्पाको झुम्सा खोलाबाट ल्याएको खानेपानी पहिलो चरणमा बुटवलमा मात्र प्रयोग हुनेछ । अहिले खानेपानीको समस्या झेलीरहेका खासगरी बुटवलको सुख्खानगर, दीपनगर, देवीनगर लगायतका क्षेत्रमा पहिलो प्राथमिकताको आधारमा खानेपानी वितरण हुनेछ । अहिले दैनिक २ घण्टा खानेपानी वितरण गर्ने गरेकोमा उक्त खानेपानी आयोजना पुरा भएपछि थप २ घण्टा उपभोक्तालाई खानेपानी वितरण गरिनेछ । खानेपानी संस्थान बुटवलका अनुसार अहिले बुटवलमा झण्डै दुई करोड लिटर खानेपानीको माग रहेको छ । बुटवलमा तिनाउ नदीबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबवेल(बोरिङ्ग)बाट ८० लाख लिटर गरी १ करोड ५० लाख लिटर खानेपानी मात्र आपूति र्भएको छ तर बुटवल नगरपालिका तथा खानेपानी संस्थान केन्द्रय कार्यालयका अनुसार झण्डै २ लाख ५० हजार जनसंख्या रहेको बुटवलमा अहिले दैनिक ३ करोड लिटर खानेपानीको माग छ ।
जसमा १ करोड ५० लाख लिटर पानी मात्र संस्थानले उपलब्ध गराएको छ भने १ करोड ५० लाख लिटर पानी अपुग रहेको छ । करिब १७ हजार धाराबाट दैनिक झण्डै १ लाख ४० रुपैया महसुल संकलन हुने बुटवल नगरपालिकामा १ सय ३ सार्वजनिक धारा वितरण गरिएको भए पनि खानेपानीको समस्या भने गर्मीयाम सुरु भएलगत्तै बढ्ने गरेको छ ।