भारतीय नाकाबन्दीविरुद्ध नेपाल मजदुर किसान पार्टीसम्बद्ध पेशागत तथा जनवर्गीय संगठनहरुले सोमबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
रत्नपार्कबाट सुरु भएको जुलुसले भारतीय दूतावास पुगेर ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र बुझाउनुअघि दूतावास अगाडि आयोजित विरोधसभामा सहभागी वक्ताहरुले भारतीय राजदूत रणजित रायलाई फिर्ता पठाउन नेपाल सरकारलाई आग्रह गरेका थिए ।
दूतावासमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको ज्ञापनपत्रमा काठमाडौंस्थित भारतीय दूतावास, वीरगन्ज र विराटनगरस्थित भारतीय महावाणिज्य दूतावास अवाञ्छित गतिविधिमा संलग्न हुँदै आएको जिकिर गरिएको छ ।
साथै, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र मैत्रीपूर्ण, आपसी सम्मानकासाथ प्रगतितर्फ अघि बढ्न भारतीय प्रधानमन्त्रीलाई आग्रह पनि गरिएको छ ।
सीमा क्षेत्रमा उपद्रो मच्चाउने भारतीय सुरक्षाकर्मीलाई नियन्त्रण गर्न र नेपाललाई बंगलादेशसम्मको बाटो उपलब्ध गराउन पनि प्रदर्शनकारीहरुले माग गरेका थिए । इमेजखबरमा समाचार छ ।