संघीय समावेशी मधेशी गठबन्धनले संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक अपूर्ण रहेको भन्दै प्याकेजमा समस्याको समाधान खोज्नका लागि पहल गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग आग्रह गरेको छ।
चार दलीय गठबन्धनका नेताले मंगलबार बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई उनकै निवासमा पुगेर भेटी काँग्रेस नेतृत्वको अघिल्लो सरकारले तयार पारेको विधेयक पारित गरेका भरमा मधेश आन्दोलन समाधान नहुने भन्दै विधेयकमा छलफलका लागि अड्डी लिनुभन्दा प्याकेजमा समाधानका लागि पहलकदमी लिन आग्रह गरेका हुन्।
काँग्रेसले संविधान संशोधन विधेयकमाथि छलफलको माग गर्दै संसद् बैठक अवरुद्ध पार्दै आएको छ। गठबन्धनका नेताहरुले भने काँग्रेस सभापति कोइरालालाई ९ बुँदे माग पत्र पेश गरी समानुपातिक/समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र निर्धारणका अलावा प्रदेशको सीमांकन हेरफेरको विषयमा समेत एकै पटक समाधान खोजिनु बुद्धिमानी हुने बताए।
आफूहरूले काँग्रेसको भोट बैंक मधेश भएकाले मधेश आन्दोलन सम्बोधनका लागि काँग्रेसले नै अग्रसरता लिनुपर्ने र मधेश आन्दोलनबारे प्रमुख तीन दलले समान धारणा बनाउनुपर्ने सुझाव दिएको गठबन्धनका नेता जयप्रकाशप्रसाद गुप्ताले बताए।
गठबन्धनका नेताहरुले मधेशवादी दल, थारु समुदाय र आदिवासी जनजातिका मागलाई एउटै बास्केटमा राखी गम्भीररूपमा अध्ययन गरेर मात्र वार्तामा वस्न पनि सुझाव दिएका छन्। गठबन्धनले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर ९ बुँदे माग पत्र बुझाएको थियो। सेतोपाटीमा समाचार छ ।