नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मी पक्राउ

नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
मानवअधिकार तथा शान्ति समाज नेपालको आयोजनामा बिहान ११ बजेदेखि धर्नामा बसेका २६ जना मानवअधिकारकर्मीलाई पक्राउ गरिएको समाजका सभापति गंगाप्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा सभापति अधिकारीसहित संस्थापक सभापति कृष्ण पहाडी, अधिकारकर्मी रेणुका पौडेल, कृष्ण कँडेल, प्रताप पौडेल, उत्तम पुडासैनी, पुष्पा केसी, रत्नलक्ष्मी श्रेष्ठ, बटुकृष्ण ढुंगेल, रेणुका काउचा, जानुका पन्तलगायत छन् ।
समाजले विश्व मानवअधिकार दिवसका अवसरमा मंगलबारदेखि १० दिने विशेष कार्यक्रम सन्चालन गर्दै आइरहेको छ । नाकाबन्दी मानवअधिकारमाथिको कुठाराघात हो भन्ने सन्देशसहित हस्ताक्षर संकलन कार्यलाई तीव्रता दिइएको छ । रासस