सरकार, प्रमुख विपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्ता निष्कर्षविहिन भएको छ ।
सरकार, प्रमुख विपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच आज वार्ता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि वार्ता आह्वान गरेका हुन् ।
त्रिपक्षीय वार्तामा मधेसी मोर्चाले उठाउँदै आएका मागका बारेमा छलफल गरी निष्कर्षमा पुर्याउने तयारी भएको छ । त्यसअघि अपराह्न ४ बजे प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई वार्ताका बारेमा जानकारी गराइसकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहका प्रमोद दाहालले जानकारी दिए । आजको वार्तालाई निर्णायक बनाउने निर्णय सरकारले गरिसकेको छ ।
मधेसी मोर्चासँगको सहमतिमा संविधान संशोधन विधेयक अघि बढाउने र सीमांकन विवाद राजनीतिक वा संसदीय समितिबाट टुंग्याउनेबारेमा प्रमुख तीन दल सहमत भइसकेका छन् ।
तीन दलबीच अघिल्लो सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई तत्काल पारित गर्ने र सीमा परिवर्तनका मुद्दालाई संसदीय या राजनीतिक समितिमार्फत् टुंग्याउने सहमति भएपछि मोर्चासँगको वार्ता निश्चित भएको हो ।
कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुले तय गरेको यो धारणाबारे आज मोर्चासँग छलफल हुने छ । तीन दलको धारणामा मोर्चाले सहमति जनाए मुलुकमा लामो समयदेखिको अन्योल समाप्त हुने नेताहरुले बताएका छन् ।
मोर्चासँगको वार्ताअघि प्रमुख तीन दलले आन्तरिक छलफल तीब्र पारेका छन् । मोर्चासँगको वार्ताका बारेमा धारणा बनाउन नेकपा एमाले स्थायी समितिको बैठक बालुवाटारमा बसेको छ ।
त्यसैगरी नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि सुशील कोइराला निवास महाराजगन्जमा बसेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टीका वरिष्ठ नेताहरुसँग आन्तरिक छलफल गरेका छन् । इमेजखबरमा समाचार छ ।