मधेशी नेताहरु भारतीय दूतावास धाउनु मुलुककै लागि लाजमर्दो भएको एमालेका माधव कुमार नेपालको भनाई

नेकपा एमालेका विदेश विभाग प्रमुख माधव कुमार नेपालले नेपालको आन्तरिक समस्याका विषयमा छलफलका लागि मधेशी नेताहरु भारतीय दूतावास धाउनु मुलुककै लागि लाजमर्दो भएको बताएका छन्।
 
नेपाल राजनीतिशास्त्री समाजले शनिबार काठमाडौमा गरेको अन्तक्र्रियामा एमालेका विदेश विभाग प्रमुख नेपालले नेपाली रगत भएको नेताको स्वाभिमानले आफ्नो आन्तरिक समस्याका बारेमा दूतावाससँग गुहार माग्नै नदिने बताए।
 
उनले मुलुकको आन्तरिक समस्याका बारेमा भारतीय दूतावास धाउनु र त्यतिले नपुगेर लस्करै दिल्ली जान खोज्नु स्वाभिमानी नेपालीका लागि अपाच्य भएको बताए।
 
एमालेका विदेश विभाग प्रमुख नेपालले मधेश आन्दोलन नेपालको आन्तरिक समस्या भएकाले भारतले दल र दलका नेताको नामै किटेर छलफलका लागि आमन्त्रण गर्नु भारतकै हित विपरित रहेको बताए।
 
नेपालसँगको सम्बन्धलाई ध्यान नदिइ दल र दल विशेषका नेतासँगको सम्बन्धलाई महत्व दिए त्यसबाट भारतले ठूलो नोक्सानी व्यहोर्नुपर्ने उनको भनाइ छ । 
 
एमालेका विदेश विभाग प्रमुख नेपालले सरकारको कुटनीतिक पहल फितलो भएका कारण नाकाबन्दी लम्बिएको भन्दै नाकाबन्दीको विरोधमा आ आफ्नो तहबाट कुरा उठाउन राजनीतिशास्त्रीहरुसँग आग्रह गरे। सेतोपाटीमा समाचार छ ।