संविधानबारे जनतालाई सुसूचित गराउन जनताको संविधान जनताकै माझमा नाम दिई प्रचार अभियान शुरु

संविधानबारे व्याप्त भ्रम निराकरण गर्दै जनतालाई सुसूचित गराउन सरकारले भोलिदेखि जनताको संविधान जनताकै माझमा नाम दिई प्रचार अभियान थाल्ने भएको छ ।
स्थानीय विकास मन्त्रालयले आज राजधानीमा पत्रकार सम्मेलन गरी भोलिबाट १ महिना सम्म ७५ वटै जिल्लामा गाउँ तहसम्म संविधानबारे जानकारी दिन अभियान थाल्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले अभियानले संविधानबारे आम जनतामा रहेको अस्पष्टता मेट्न सहयोग पुग्ने बताए ।
वर्तमान संविधानमा सरल ढंगबाट संशोधन हुने व्यवस्था भएकाले आन्दोलनकारी दलहरु आन्दोलन छाडेर संवैधानिक प्रक्रियाबाट अघि बढ्नुपर्ने उनको भनाई थियो । संविधानलाई मैथीली, भोजपुरी, थारु र अवधी भाषामा अनुवाद गरी वितरण गरिने पनि थापाले बताए ।
संविधानबारे जानकारी दिन आयोजना गरिने अन्तरक्रियामा प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, भुतपूर्व प्रधानमन्त्रीहरु लगायतको समेत उपस्थिति रहने जानकारी पनि थापाले दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राजधानीको राष्ट्रिय सभा गृहबाट संविधानबारे जानकारी अभियानको थालनी गर्ने जनाइएको छ । इमेजखबरमा समाचार छ ।