साउदी अरेबियाका महिलाले इतिहाँसमै पहिलो पटक आफ्नो मताधिकारको प्रयोग गर्दै छन् । त्यहाँ गरिन लागेको नगरपालिकाको निर्वाचनमा महिलाले आफ्नो मताधिकार प्रयोग गर्न पाएका हुन् ।
रुढीवादी परम्परा र संस्कारको आधारमा चल्दै आएको राजतन्त्रात्मक मुलुक साउदी अरबका महिलालाई पहिलो पटक मताधिकारका अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने अधिकारसमेत दिइएको छ ।
९ सय ७८ जना महिला निर्वाचनमार्फत् आफ्नो भाग्य परीक्षण गर्दैछन् भने झण्डै ६ हजार पुरुष प्रतिष्पर्धाको मैदानमा छन् । करीब एक लाख ३० हजार महिलाले मत प्रयोग गर्न आफ्नो नाम दर्ता गराएका छन् । जहाँ करीब १४ लाख पुरुष मतदाता छन् ।
मताधिकारका लागि नाम दर्ता गर्न पाउँदाको अनुभूति शब्दमा ब्याख्या गर्नै नसक्ने भन्दै परिवर्तन भन्ने शब्द अत्यन्तै ठूलो रहेको एक महिला मतदाताले बताएकी छिन् ।
महिलालाई मताधिकार स्निश्चित गराउने काम भने दिवंगत राजा अब्दुल्लाहले गरेका हुन् । आफ्नो मृत्यु पूर्व मात्र पनि राजा अब्दुल्लाहले मुलुकको माथिल्लो सल्लाहकार परिषद शूरामा ३० जना महिलालाई मनोनित गरेका थिए । (एजेन्सी)