एकीकृत माओवादीमा पार्टीको अवस्था कमजोर बन्दै गएको भन्दै संगठन विस्तारको कार्यक्रम बनाउन नेतृत्वको ध्यानाकर्षण

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्यहरुले पार्टीको अवस्था कमजोर बन्दै गएको भन्दै संगठन विस्तारको कार्यक्रम बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 
 
पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीत भएर धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरुले कमजोर बन्दै गएको संगठनलाई मजबुत बनाउने कार्यक्रम बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । शनिबार १० जना केन्द्रीय सदस्यहरुले बोलेकामा सबैजसोले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी छोडेपछि कार्यकर्तामा निराशा बढेको भन्दै कार्यकर्तालाई जुझारु बनाउने कार्यक्रम तय गर्नुपर्नेमा जोड दिएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए।
 
उनका अनुसार केन्द्रीय सदस्यहरुले मधेश आन्दोलन सम्बोधनका लागि सरकारलाई दवाब दिन समेत सुझाव दिएका छन्। केन्द्रीय सदस्यहरुले चार महिनादेखिको आन्दोलनका कारण मधेशको मात्र नभइ मुलुकको जनजीवन नै प्रभावित भएको तर यस्तो बेला सरकारमा सहभागी भएको दलको नाताले आन्दोलन सम्बोधनका लागि प्रभावकारी कदम नचाल्दा पार्टीको अवस्था झनै खस्किनेतर्फ ध्यानाकर्षण गराएको प्रवक्ता शर्माले जानकारी दिए।
 
११ दिन पहिले सुरु भएको बैठकमा शनिबारसम्म १ सय २ जना केन्द्रीय सदस्यले आ आफ्नो धारणा राखेका छन् । अब ७ जनाले बोल्न बाँकि छ । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम आइतबार सकिने प्रवक्ता शर्माले बताउनुभयो । बैठक आइतबार विहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सेतोपाटीमा समाचार छ ।