यतिखेर निर्वाधरुपमा यातायात सन्चालन नहुँदा बजार खुलेपनि महँगीसँगै तराईमा व्यापक कालोबजारी भइरहेको छ ।
नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शनिबार चार महिना पुग्दैछ ।
साउन ३० गतेदेखि सुरु भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराई-मधेसका जिल्लामा जनजीवन निकै कस्टकर बनेको छ ।
महिनौंदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता-कार्यकर्तामा निराशापन छाउँदै गएको देखिन्छ ।
महोत्तरीको भिट्ठामोड नाका, धनुषाको जटहीनाका, सर्लाहीको मलंगवा-सोनवर्सा नाका अवरुद्ध पारेर २४ सै घन्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन् ।
आन्दोलन उचाइमा पुगेको बेला यी नाकाहरु अवरुद्ध पारेर धर्ना भएको थियो । महिनौंसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाइ नभएपछि मोर्चाका कार्यकर्ता आजित भएर करिब दुई सातादेखि अनुपस्थित देखिएका छन् । त्यहाँ अहिले उनीहरूको धर्ना छैन ।
यता, मधेसी मोर्चाका शीर्ष तीन नेताको गृहजिल्ला सर्लाहीको मलंगवा-सोनवर्सा मुख्य नाकाको त्रिपालसमेत एक सातादेखि हटाइएको छ ।
सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई-मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवको गृहजिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ । त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्णरुपमा खुला भएका छन् ।
अहिले जनकपुरको बजार पनि खुल्न थालेको देखिन्छ भने राजमार्ग आसपासका क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका प्रायः ठाउँका बजार, शिक्षण संस्था पूर्णरुपमा सन्चालन भएका छन् ।
यति लामो आन्दोलन हुँदा पनि माग सुनवाइ नभएपछि धेरै साथी निराश भएर आन्दोलनमा आउन छाडेको आन्दोलनकारीले बताउन थालेका छन् भने आमजनता पनि बन्द, हडतालदेखि आजित भएका छन् ।
यतिखेर निर्वाधरुपमा यातायात सन्चालन नहुँदा बजार खुलेपनि महँगीसँगै तराईमा व्यापक कालोबजारी भइरहेको छ । किसानले खेत जोत्न नपाएर गहुँ, मसुरो र तेलहन बालीसमेत समयमा लगाउन पाएका छैनन् ।
आन्दोलनले किसानलाई ठूलो संकटमा पारेको महेन्द्रनगरका किसान रामदेव यादवले बताए ।
यद्यपि, मोर्चासम्बद्ध केही नेताले किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताउँछन् ।
मुख्य नाका ठप्प पारेर मोर्चाले धर्ना दिएपछि छोटी नाकाबाट भने व्यापक तस्करी भइरहेको आन्दोलनकारी स्वयंले स्वीकारेका छन् ।
ती नाकाबाट भइरहेको डिजेल, पेट्रोल, कपडा, खाद्यान्नलगायतका तस्करी भइरहेको छ । हिजोआज धर्नामा बस्नेको संख्या र उत्साहमा व्यापक कमी आएको मोर्चाकै नेता स्वीकार गर्छन् । रासस