के तपाईं मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारीसाधन त चलाउँदै हुनुहुन्न अब ख्याल गर्नुहोस् । पहिलेजस्तो मापसे गरेर जरिवानामा मात्र छाडिने होइन्, तपाईंलाई सार्वजनिक मुद्दा पनि लाग्दैछ ।
मापसे गरेर सार्वजनिक भाडाका सवारीसाधन चलाउने सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले पक्राउ गरी केही सार्वजनिक मुद्दा चलाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले मङ्सिर पहिलो सातादेखि इलाममा यो प्रक्रिया सुरु गरेको हो । यो प्रक्रिया सुरु गरेपश्चात् १० जनाभन्दा बढी मापसे गर्ने चालकलाई सार्वजनिक मुद्दा दायर गरी कानुनी कारबाही अघि बढाएको छ ।
ट्राफिक इन्चार्ज पदमबहादुर राईका अनुसार मापसे गरी सवारी चलाउने चालकलाई केही सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रशासन कार्यालय इलाममा मुद्दा दायर गरिन्छ । मापसे गरेर भाडाका सवारीसाधन चलाउनेलाई पक्राउ गरी मुद्दा चलाउन थालिएको छ, राईले भने पहिलेजस्तो जरिवाना तिरेर छुट्छु भन्ने अब हुँदैन, पक्राउ परेपछि अनिवार्य सार्वजनिक मुद्दा लाग्छ । मुद्दा दायर भइसकेपछि २५ दिन थुनामा र रु २८ हजारसम्म जरिवाना हुनसक्छ ।
मापसे गरी सवारीसाधन चलाउँदा दुर्घटना हुने बढी सम्भावना भएकाले दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले यस्तो अभियान सुरु गरेको राईले बताए । मापसे गरेर सवारीसाधन चलाउँदा यसअघि रु एक हजारसम्म जरिवाना हुने र लाइसेन्समा प्वाल पार्ने काम हुन्थ्यो अब भने त्यसका अतिरिक्त सार्वजनिक अपराधअन्तर्गत मुद्दा पनि सँगसँगै चलाइन्छ, राईले भने, यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मेचीराजमार्गअन्तर्गत कोल्बुङ, फिक्कल, तीनघरे, गोदक, गोलाखर्क, इनपा, बरबोटे, रक्सेलगायतका स्थानमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दै आएको छ । रासस