व्यवस्थापिका संसद्को बैठक अवरुद्ध

व्यवस्थापिका संसद्को बैठक अवरुद्ध भएको छ । संसद् भवन नयाँबानेश्वरमा साँझ बसेको बैठकको सुरुमै बोल्दै नेपाली कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठले भूकम्पबाट प्रभावित संरचना पुनःनिर्माण प्राधिकरण गठन गर्नेसम्बन्धी विधेयक र संविधान संशोधन विधेयक एकैसाथ पेश गर्न आग्रह गरेका थिए । सरकारले संविधान संसोधनको प्रस्ताव अगाडि नबढाएकोमा उनले आपत्तिसमेत जनाएका थिए ।
उनले बोलिरहँदा सभामुख ओनसरी घर्तीले रोक्दै सरकारले पेश गर्न खोजेको भूकम्पबाट प्रभावित संरचना पुनःनिर्माण प्राधिकरण गठन गर्नेसम्बन्धी विधेयकलाई जोड दिएकी थिइन् ।
सचेतक श्रेष्ठले संविधान संसोधन प्रस्ताव पेश नभएसम्म संसद चल्न नदिने स्पष्ट पारेपछि कांग्रेसका सांसदहरु आफ्नो सीटबाट उठेका थिए । कांग्रेस सांसदहरुले नाराबाजी गर्दै संविधान संसोधन विधेयक पेश गर्न आग्रह गरेका थिए ।
ब्यवस्थापिका संसद बैठक मंगलबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ । इमेजखबरमा समाचार छ ।