मधेसी मोर्चाको अवरोधबीच संविधान संशोधन, पुनःनिर्माण विधेयक व्यवस्थापिका-संसदमा पेश

मधेसी मोर्चाको अवरोधबीच संविधान संशोधनसम्बन्धी विधेयक मंगलबार व्यवस्थापिका-संसदमा पेश भएको छ ।
मधेसी मोर्चाले वेल घेरेर नाराबाजी गरेकै अवस्थामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले संविधान संशोेधनसम्बन्धी विधेयक पेश गरेका हुन् ।
त्यस्तै, विधायन समितिकी सभापति गंगा चौधरीले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश गरिन् ।
यो प्रतिवेदन पारित भएपछि पुनःनिर्माण प्राधिकरण गठनको बाटो खुल्नेछ । दुबै विधेयक पेश हुँदैगर्दा मोर्चाका सांसदहरुले नाराबाजी गरेका थिए ।
संविधान संशोधनसम्बन्धी विधेयकमा मोर्चाको असहमति रहेपनि पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदनमा मोर्चाले सहमति जनाएको थियो । तर, दुबै विधेयकलाई पेश गरिएको भन्दै मोर्चाले विरोध जनाएको हो ।
संसदमा पेश गरिएको विधेयकले आफूहरुको मागलाई सम्बोधन नगर्ने भन्दै यसको विरोध गरिएको सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बताए ।
संसदको अर्को बैठक बुधबार (भोलि) दिउँसो ४ बजे बस्नेछ । – इमेजखबरमा समाचार छ ।