राष्ट्रपति विद्यादेवी भण्डारी मिथिलाञ्चलको ऐतिहासिक विवाह पञ्चमीमा सहभागी भएकी छन् ।
राष्ट्रपति भण्डारीले बुधबार जनकपुरको रामजानकी मन्दिरमा पूजा-अर्चना गरेकी हुन् । राष्ट्रपति भण्डारीले पूजा गरिरहँदा बाहिर मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए ।
विरोधकैबीच राष्ट्रपति भण्डारी जनकपुर पुगेर रामजानकी मन्दिरको दर्शनसमेत गरी काठमाडौं फर्किएकी छन् । तर, राष्ट्रपति भण्डारी फर्किएपछि पनि यहाँ प्रदर्शन जारी छ । स्थिति तनावग्रस्त बनेको छ ।
जानकी मन्दिर अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । त्यसक्रममा एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।
प्रदर्शनकारीले जानकी मन्दिरको प्रांगणमा बनाइएको पन्डालमा आगो लगाइदिएका छन् । पन्डाल जलेपछि जानकी विवाहको डोली निकालिने कार्यक्रम अनिश्चित बनेको छ ।
राष्ट्रपति भण्डारीलाई मधेस विरोधी को संज्ञा दिँदै बुधबार बिहानैदेखि मोर्चाका कार्यकर्ताले मुरली चोक, रामानन्द चोक र जनक चोकमा प्रदर्शन गरेका हुन् । प्रहरी र मोर्चाका कार्यकर्ताबीच जनकचोकमा झडप भएको थियो । प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
स्थितिलाई सामान्य बनाइराख्न जनकपुरका चोक-चोकमा ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । इमेजखबरमा समाचार छ ।