व्यवस्थापिका-संसद नियमावली मस्यौदा समितिको समय १५ दिन थपिएको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकले १५ दिनको समय थपेको हो ।
समितिलाई पुस ५ गतेसम्मको समय दिइएको थियो । काम अझै नसकिएकाले समितिको म्याद थपिएको हो । नियमावलीको लागि उपसमितिले अझै समय मागेको थियो ।
शुक्रबारको संसद बैठक भने मधेसी मोर्चाले अवरोध गरेन । संसदको अर्को बैठक पुस ८ गतेका लागि बोलाइएको छ ।
संसद बैठक स्थगित गरिएको यसबीचमा मधेसी मोर्चाका मागलाई संशोधन विधेयकमा कसरी समावेश गर्ने भन्नेमा मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले संसद बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरेको हो ।
तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको सभामुख ओनसरी घर्तीमगरले जानकारी दिइन् । – इमेजखबरमा समाचार छ ।