साइकल चढौं, वातावरण जोगाऔं भन्ने नाराका साथ काठमाडौमा साइकल र्‍याली

साइकल चढौं, वातावरण जोगाऔं भन्ने नाराका साथ शनिबार काठमाडौमा साइकल र्‍याली निकालिएको छ । रोजी मल्टिपल विजनेस प्रालिले विज्ञान प्रविधि तथा वातावरण मन्त्री विशेन्द्र पासवान, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल लगायतका सरकारी अधिकारीको सहभागीतामा साइकल र्‍याली निकालेको हो।
र्‍यालीमा नम्रता श्रेष्ठ, रिमा विश्वकर्मा, अशिष्मा नकर्मी, मलिना जोशी, शिल्पा पोखरेल लगायतका नायिका पनि सहभागी थिए । धुम्बाराहीबाट सुरु भएको र्‍याली नारायणगोपाल चोक हुँदै प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । भारतको नाकाबन्दीका कारण इन्धनको आपूर्ति असहज भएका बेला साइकल चढ्ने आव्हानसहित र्‍याली निकालेकामा  प्रधानमन्त्री केपी शर्मा  ओलीले आयोजकलाई धन्यवाद दिए।
उनले अभावका बेला समेत सबै पेशाकर्मी र आम जनता राष्ट्रिय स्वाधिनताका पक्षमा एकजुट देखिएकोबाट आफूलाई थप उर्जा मिलेको भन्दै राष्ट्रियताविरुद्ध कुनै सम्झौता नगर्ने बताए। प्रधानमन्त्री ओलीको २ मिनेट लामो मन्तव्यपछि साइकल र्‍याली भाटभटेनी, नक्साल, दरबारमार्ग, कमलादी, ज्ञानेश्वर, गौशाला हुँदै पुनः धुम्बाराही  पुगेको थियो। सेतोपाटीमा समाचार छ ।