रौतहटको गौरमा स्थानीय प्रशासनले सोमबार बिहान सांढे १० बजेदेखि लगाएको कर्फ्यु मंगलबार ६ बजेदेखि बिहान १० बजेसम्मको लागि हटाएको छ ।
कर्फ्यु हटेसंगै बाक्लो हुस्सु र चीसोकै बीच मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन सुरु गरेका छन् । रौतहटमा प्रहरीको गोली लागेर आइतबार मृत्यु भएका तेजापाकड गाविस १ का १८ बर्षिय शेख तरबेजलाई शहीद घोषणा, पीडित परिबारलाई क्षतिपूर्ती, घटनको न्यायिक छानबीन र दोषी प्रहरीलाई कार्बाहीको माग गर्दै बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले गौरका ठाउं ठाउंमा टायर बालेर प्रदर्शन गरिरहेपनि प्रहरीले भने हस्तक्षेप गरेको छैन । उता,कर्फ्यु खुलेसंगै सर्वसाधारणको बजारमा सामान किन्न भिड लागेको छ ।
यसैबीच, सोमबार पनि कर्फ्युकै बीच मोर्चाका कार्यकर्ताले प्रहरीको आंखा छलेर सदरमुकाम गौर आसपासका कटहरिया, गंगापिपरिया, बंकुल, जुनखुरुवा, अजगैबि, गरुडालगायतका स्थानमा बिरोध प्रदर्शन गरेका थिए । यता, मोर्चाका कार्यकर्ताले चार बुंदे माग पूरा नभएसम्म मृतकको शव नबुझन अडान लिएका छन् । इमेजखबरमा समाचार छ ।