अत्यधिक चिसोका कारण त्रिपालमुनि दिनरात कटाइरहेका बारपाकका भूकम्पपीडित बिरामी परेका छन्।
त्रिपालले बेरेको अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितलाई रुघाखोकी, झाडापखाला, निमोनिया जस्ता रोगले सताएको हो। सुत्केरी, स्कुले बालबालिका, दीर्घ रोगी र वृद्धवृद्धा चिसोको मारमा परेका छन्।
बेलुकीदेखि बिहानसम्म पानी परेझैँ शीत पर्ने बताउँदै बारपाकका भूकम्पपीडित तेजबहादुर घलेले भने, एक हप्ता भयो, दिउँसो एकैछिन घाम लाग्छ, शीतले टहराको छानो सेतै बनाउँछ, घाम नलागेसम्म चिसोले बाहिर निस्कनै सकिँदैन।
अत्यधिक चिसोले गर्दा भेडा चराउन भेडीगोठमा बस्ने गोठाला र काम नगरी हातमुख जोर्न नसक्नेलाई थप समस्या भएको छ। बारपाकको करिब एक हजार ४७२ घरधुरीमध्ये वडा नं ४ देखि ९ सम्मका भूकम्पपीडित एकै गाउँमा बस्छन्। वडा नं १ को पोखरी, २ को स्नान र मान्द्रे तथा वडा नं ३ को कोजे गाउँका अधिकांश भूकम्पपीडित भूकम्प गएको आठ महिना बितिसक्दा पनि त्रिपालमुनि नै छन्। उनीहरुले जस्तापाताले छाएको टहरोसमेत उभ्याउन सकेका छैनन्।
बारपाकको स्वास्थ्य चौकी प्रमुख धनमाया घले भूकम्पपछि दम, ज्वरो र निमोनियाका बिरामी बढेको बताउँछन्। चिसोबाट बिरामी परेकालाई उपचार गरी औषधि दिइरहेको उनको भनाइ छ।
बारपाक-१ को पोखरी गाउँका भूकम्पपीडितले खासै राहत सहयोग पाएनन्। सबैको ध्यान बारपाक गाउँमा भएकाले वडा नं. १, २ र ३ गाउँका भूकम्पपीडित ओझेलमा परेका हुन्। सरकार र विभिन्न सङ्घसंस्थाले पनि वडा नं ४ देखि ९ सम्मका भूकम्पपीडितलाई सहयोग गर्दै आएको अन्य वडाबासीको भनाइ छ।
वडा नं ५ का ४० घरधुरी दलित समुदायका भूकम्पपीडित वडा नं ४ को गैरीगाउँमा अर्काको जग्गामा बस्दै आएका छन्। स्थानीयवासी रोशन विकले घर,घडेरी पुग्ने जग्गाको खोजी गरी सरकारले पुनःनिर्माण थाल्नुअघि विस्थापितलाई सुरक्षित ठाउँमा स्थापित गर्न माग गरे।
कमजोर आर्थिक अवस्थाले गर्दा उनीहरु पनि त्रिपालले छाएको अस्थायी टहरामा बस्दै आएका छन्। सरकारले दिएको रु १५ हजार पाए पनि काठपात र टहरो बनाउने जग्गा नभएपछि उनीहरु समस्यामा छन्।
उता वडा नं २ को स्नान गाउँका ४० घरधुरीका स्थानीय चौरमा आएर बसेका छन्। त्रिपाल र पालले छाएको टहरामा बसेका उनीहरुले पनि जस्ताले छाएको टहरो बनाउन सकेनन्। स्नानबाट विस्थापित उनीहरु पुनः स्नान गाउँ नै फर्कन चाहन्छन्।
भूकम्पपीडित मात्रै होइन, बारपाकको प्रहरी चौकी पनि त्रिपाल, पालभित्रै छ। भूकम्पपीडितलाई सहयोग गर्न बारपाक पुगेका सङ्घसंस्थाका कार्यालय पनि पालभित्र सञ्चालनमा रहेका छन्।
आकाशबाट पानी नपर्दासम्म हिउँ नपर्ने बताउँदै भूकम्पपीडितले एक झर पानी परेपछि चिसोले गर्दा गाउँमा बस्न नसकिने अनुमान गरेका छन्। बारपाक, घ्याच्चोकको उपल्लो भेग, सौरपानी, स्वाँरा, लाप्राकको गुप्सीपाखा, गुम्दा, लापु, उहिया, केरौँजा, कासीगाउँ र सिर्दिवास क्षेत्रमा चिसोका कारण भूकम्पपीडितले कष्टकर जीवन निर्वाह गर्नुपरेको छ। न्यानो कपडा नहुँदा भूकम्पपीडित आगो तापेर रात कटाउन बाध्य छन्।
पानी परेपछि तिब्बतसँग सीमाना जोडिएका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पारलगायत गाविसमा बाक्लो हिउँ पर्छ। ती गाविसका अधिकांश भूकम्पपीडित चिसो बढेपछि बेँसी झरेका छन्।
जिल्ला दैवीप्रकोप उद्धार समितिले सरकारले न्यानो कपडा किन्न दिएको रु १० हजार वितरण प्रक्रिया सुरु गरेको छ। साथै विभिन्न सङ्घसंस्थाले ३० गाविसका भूकम्पपीडितलाई रु १० हजारका दरले रकम तथा न्यानो कपडा बाँड्ने तयारी गरेका छन्। रासस