हप्तामा ७० घण्टा लोडसेडिङ तर प्रधानमन्त्री केपी ओलीले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने दाबी

प्रधानमन्त्री केपी ओलीले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजनालाई सफल बनाउने दाबी गरेका छन् ।
संसदको कृषि तथा जलश्रोत समितिको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य गर्ने कुरा धेरैलाई विश्वास नलागे पनि सरकारले काम गरेर देखाउने बताए ।
लोडसेडिङ अन्त्यका लागि चालिने काममा अवरोध गर्ने जोसुकैलाई नछाड्ने उनको चेतावनी थियो ।
निर्माणाधीन आयोजनाहरुलाई द्रुत गतिमा अघि बढाउने भन्दै प्रधानमन्त्री ओलीले अन्य वैकल्पिक व्यवस्थाहरुलाई पनि अघि बढाउने योजना सुनाए । सिंहदरबार क्षेत्रलाई सोलारबाट आत्मनिर्भर बनाउने, सुरक्षा निकाय र विद्यालयहरुमा पनि सोलार जोड्ने उनको भनाई थियो ।

समितिको बैठकमा समितिका सभापति गगन थापाले आयोजनाहरु रोकिनुका कारणहरु सहितको प्रतिवेदन पेश गरेका थिए । 

एउटा आयोजनाका लागि ७ वटा मन्त्रालय, २३ वटा विभाग र ३६ वटा कानुनमा टेक्नुपर्ने झण्झटका कारण काम ढिलो हुने गरेको थापाको प्रतिवेदनमा उल्लेख छ । इमेजखबरमा समाचार छ ।