एमाओवादी दाहालद्धारा संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह

नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरेका छन् । अहिलेको राजनीतिक गतिरोध अन्त्यको प्रयासमा एमाओवादी अध्यक्ष दाहालले राजधानीमा मधेसी मोर्चाका दुई नेतालाई भेट गरेका हुन् ।
उनले शुक्रबार मोर्चाका दुई नेतासँग भेट गर्दै संविधान संशोधन प्रस्ताव अगाडि बढेकोले आन्दोलन र नाकाको धर्ना फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्डको भनाइ उद्धृत गर्दै फोरम अध्यक्ष यादवले भने, ‘नेपाली जनताले धेरै नै दु:ख पाइसके । अब यसलाई जतिसक्दो चाँडै निकास दिऔं ।’
दाहालले नेपाली कांग्रेस र एमालेसँग पनि लचकतापूर्वक अगाडि बढौ भनेर आफूले बारम्बार भनिरहेको मोर्चा नेतालाई जानकारी गराएका थिए ।
भेटघाटमा मोर्चा नेताले भने जसरी संविधान बलपूर्वक लादियो त्यसैगरी संविधान संशोधन प्रस्ताव पनि लादेरै अगाडि बढाइएकोले आफूहरुलाई उक्त प्रस्ताव स्वीकार्य नहुने बताए । यादवले भने, ‘हामी सिमांकन सहित प्याकेजमा हाम्रा मागहरु सम्बोधन हुन्छ भने हामी सहमति दिन्छौं । तर यही अवस्थामा सं‌शोधन प्रस्ताव स्वीकार्य हुँदैन ।’
भेटमा दाहालले मधेसको आन्दोलनको मुद्धा सम्बोधन गर्नेबारे तीन दलमा एक रुपता नहुँदा अहिलेको अवस्था आएको स्वीकार गरेका थिए ।
यसैगरी दाहालले आजै बिहान नेपाली कांग्रेस, नेकपा एमालेका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेका छन् ।
बिहान कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरे । ईकान्तिपुरमा समाचार छ ।