राष्ट्रपति विद्यादेवीद्धारा राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै एक लाख २१ हजार ३६० दान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेकी छन् ।
मुलुकमा भइरहेको संकटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याण र विश्व कल्याणको कामनाका लागि संकल्प गरी विशेष पूजा गर्नुभएको छ, बिहान १०ः२० बजे पशुपतिनाथ मन्दिर प्राङ्गणमा आइपुग्नुभएका राष्ट्रपतिले मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी वासुकीनाथ र मूल मन्दिरमा पनि विशेष पूजा भक्ति निष्ठापूर्वक गर्नु भएको छ- सदस्यसचिव डा. टन्डनले भने ।
राष्ट्रपति भण्डारीले शेषनारायण, लालगणेश, सूर्यनारायण, गंगामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, सितलामाई, चतुःषष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर मूल भट्ट र अन्य भट्टद्वारा विशेष पूजा अर्चना गरेको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।
उनले पशुपतिनाथको मूल मन्दिरको दर्शन गरी नन्दी, हनुमान, सत्यनारायणको पनि दर्शन गरेकी थिइन् ।
राष्ट्रपति पशुपतिनाथ मन्दिर परिसरमा आइपुग्दा पशुपति क्षेत्रका स्थानीयवासीले धिमे बाजाले स्वागत गरेका थिए । पश्चिमढोकाबाट मूल मन्दिरमा प्रवेश गर्ने बित्तिकै नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचनबाट उनको स्वागत गरेका थिए ।
पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घन्टा पशुपति मन्दिर परिसरमा बिताएकी थिइन् ।
राष्ट्रपति निर्वाचित भएपछि भण्डारीको यो पहिलो पशुपतिनाथमा पूजा एवं दर्शन हो । यसक्रममा उनले राष्ट्रपति भएपछि पहिलो महिनाको तलब रु एक लाख २१ हजार ३६० पशुपतिनाथमा अर्पण गरेको कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुंगानाले जानकारी दिए ।
राजतन्त्रकालमा राजाले पनि पर्व-पर्वमा पशुपतिनाथमा दर्शन एवं पूजा गर्ने परम्परा थियो ।
अन्तरिमकालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र दोस्रो संविधानसभाको निर्वाचन गराउने मन्त्रिपरिषद् अध्यक्ष बनेका खिलराज रेग्मी पनि विशेष पूजाका लागि पशुपतिनाथ मन्दिरमा गएका थिए ।
राष्ट्रपति भण्डारीले यसअघि कोषको सन्चालक सदस्य भएरसमेत काम गरिसकेकी छन् । वि.सं २०५१ को उपनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर-२ २ बाट निर्वाचित भइ उनले पदेन पशुपति क्षेत्र विकास कोष सन्चालक परिषद्को सदस्य भइ काम गरेकी थिइन् ।
पशुपति रहेको निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद कोषको पदेन सन्चालक परिषद् सदस्य हुने व्यवस्था कोषको ऐनमा गरिएको छ । रासस