उपप्रधान तथा ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेको करिब अढाइ महिनापछि पहिलाे पटक नेपाल विद्युत् प्राधिकरण पुगेका मन्त्री टोपबहादुर रायमाझीले कर्मचारीहरुलाई जोखाना हेरेर नबसी फटाफट काम गर्न निर्देशन दिएका छन्।
ससाना र झिनामसिना कुरामा अल्झिएर बस्दा नै देशमा जलविद्युतको विकास हुन नसकेको भन्दै उनले कुनै पनि अायाेजनाकाे जोखतौलमै समय बिताएर निर्णय प्रक्रिया नलम्ब्याउन आग्रह गरेका हुन्।
कुनै पनि आयोजनाको विषयमा निर्णय गर्न धेरै जोखाना नहेरिरहनुस्, उनले भने, ड्याङडुङ निर्णय गरेर आयोजनालाई कार्यान्वयनमा लानुस्, अख्तियार र न्यायालयसँग परेको म ब्यहोरुँला। ऊर्जा क्षेत्रको नेतृत्वकर्ताको हिसाबले मैले गर्ने त्यही नै हो। अख्तियारकै डरले कामेर बस्ने हो भने १ सय ४ वर्षको इतिहासमा ७ सय ५० मेगावाट उत्पादन भएजस्तै अब पनि जलविद्युतको विकास नहुने उनले ठोकुवा गरे। कार्यान्वयमा जाने आयोजनाहरुको निर्णय प्रक्रिया तीव्र बनाउनु पर्नेमा उनको जोड थियो। ‘कसले के भन्ला, कसो होला, फसिएला कि भन्ने जस्तो डरमा बस्ने हो भने ऊर्जा संकटको निवारण हुँदैन, आफू अढाइ महिनापछि मात्र प्राधिकरण आएको बारे स्पष्टिकरण दिँदै उनले भने, द्विविधामा बस्दा मलाई प्राधिकरणमा आउनै अढाइ महिना लाग्यो। त्यसैले द्विविधामा नबसी ड्याङडुङ निर्णय गर्नुपर्छ।
ऊर्जा संकटनिवारणका लागि ऊर्जा मन्त्रालयले आगामी १५ दिनभित्रमा गुरुयोजना ल्याउन लागेको उनले बताए। अल्पकालिन, मध्येकालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नेगरी आफूहरुले काम सुरु गरिसकेको पनि उनले बताए । मन्त्री भएको अढाइमहिनासम्म आफूले मन्त्रालयका समस्या, देशमा भएको ऊर्जा विकासका समस्याजस्ता सबै समस्याको अध्ययन गरेकोले अब योजनाबद्ध ढंगले कार्यान्वयन तहमा जान लागेको उनले बताए।
आगामी १ वर्षभित्रमा जनताले महसुस गर्ने गरी आधारभूत रुपमा लोडसेडिङको समय बढीमा दैनिक ५ घण्टामा सीमित गर्ने, दुई वर्षभित्रमा जलविद्युत्ले नै सम्पूर्ण विद्युत् माग धान्ने गरी विकास गर्ने र १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादनको लक्ष्यसहित आफूहरु अघि बढ्ने उनले बताए । हामी नेपाली समस्या पहिल्याउन, भाषण गर्न, छलफल गर्न, विश्लेषण गर्न, समस्याको समाधान पहिल्याउन र योजना पनि बनाउन सक्षम छौं, उनले भने, तर बनेका आयोजनाहरुलाई सफल कार्यान्वयमा लगेर परिणाम निकाल्न असफल रहँदै आएका छौं। नागरिकन्युजमा समाचार छ ।