भूकम्प पीडितको परिचयपत्र वितरणमा गुनासो बढेपछि जिल्ला दैविक प्रकोप उद्धार समिति रसुवाले प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा छानविन समिति गठन गरि आवश्यक कारवाहीको प्रकृया अगाडि बढाएको छ ।
जिल्लामा वास्तबिक पीडितहरुले परिचयपत्र नपाएको र नक्कली परिचयपत्रवालाले राहत रकम लगायतका सुविधा लिएको गुनासो र उजुरी जिल्ला प्रशासन कार्यालयमा आएपछि अधिकार सम्पन्न समिति गठन गरि आवश्यक कार्य अगाडि बढाईएको हो ।
राजपत्राङ्कीत द्वितीय श्रेणीका अधिकृतको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सम्बन्धित गाँउ विकास समितिका सचिवको तीनवटा टोली गठन गरि परिचयपत्रको ब्यवस्थापन र छानविन गरी दश दिनभित्र प्रतिवेदनसमेत दिन समितिलाई गाँउमा खटाई सकिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
नक्कली भूकम्प पीडित राहत परिचयपत्र बनाई सरकारी राहत लिनेहरुलाई तत्काल ठगीको मुद्दा चलाई राहत रकम फिर्ता लिई कानुन बमोजिम कारवाही गरिने उनले जानकारी दिए ।
जिल्लाका १८ गाविसमा ११ हजार ४४० घर पूर्ण क्षति भएकोमा अहिलेसम्म ११ हजार १८६ परिवारले मात्र १५ हजार राहत बुझेका प्रशासनको तथ्याङ्क छ भने सोही समयमा आफ्नो घर छुट भई भूकम्प पीडित पारिवारिक परिचय पत्र पाउन करिब तीन सय परिवारले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । इमेजखबरमा समाचार छ ।