एकबर्षमा लोडसेडिङ अन्त्य हुने कुनै ग्यारेन्टी छैन: उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेकसो सार्वजनिक कार्यक्रममार्फत एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने भाषण गर्दै आएकामा उनकै मन्त्रीपरिषद्का एक जना वरिष्ठ मन्त्रीले सतप्रतिशत रुपमा लोडसेडिङ अन्त्य गर्न सम्भव नरहेको बताएका छन्।
 
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री  टोपबहादुर रायमाझीले एक वर्षभित्र लोडसेडिङ पूर्ण रुपमा अन्त्य हुने कुरा अहिले नै ग्यारेण्टी गर्न नसकिने बताए।
 
रिपोर्टस क्लबले सोमबार काठमाडौमा गरेको साक्षात्कारमा उपप्रधानमन्त्री तथा उर्जामन्त्री  रायमाझीले मन्त्रालयले एक वर्षभित्र सम्पन्न हुने, बिग्रिएका र विवादमा रहेका आयोजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने योजना बनाइरहेको भन्दै विद्युत आयोजनाबाट मात्र एक वर्षमा लोडसेडिङ अन्त्य गर्न नसकिने  बताए।
 
उनले लोडसेडिङ अन्त्यका लागि सोलार प्रविधि पनि अपनाउनुपर्ने तर सोलार प्रविधि भरपर्दो नभएकाले अहिले नै एक वर्षभित्र पूर्णरुपमा लोडसेडि हट्छ भनेर घोषणा गर्न नसकिने बताए।
 
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री रायमाझीले लोडसेडिङको समय अझै बढ्ने बताए। उनले आमजनताले हिटर बाल्ने क्रम बढ्नाले विद्युत प्राधिकरणका ट्रान्सफर्मर दिनको १५ वटाका दरले पड्किइरहेको भन्दै लोडसेडिङको समय बढाउनुको विकल्प नरहेको बताए। यद्यपी, उनले लोडसेडिङ अन्त्यको प्रयासस्वरुप उर्जा संकट निवारणकाल घोषणा गरेर विद्युत उत्पादनको कामलाई तिब्रता दिने गरी मन्त्रालयले योजना बनाइरहेको र उक्त योजना पुस मसान्तसम्म सार्वजनिक गरिने बताए।  सेतोपाटीमा समाचार छ ।