नक्कली भूकम्पपीडितको सङ्ख्या बढेको भन्दै भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने

नक्कली भूकम्पपीडितको सङ्ख्या बढेको भन्दै भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने भएको छ । 
 
सरकारले घर निर्माणका लागि दुई लाख रुपै‌ंया अनुदान वितरण गर्नुभन्दा पहिले नै भूकम्पपीडितको नयाँ तथ्याङ्क सङ्कलन गरिने योजना रहेको प्रअिज उमेशकुमार ढकालले बताए। 
 
नक्कली भूकम्पपीडितको हातमा जस्तापाता खरिदको १५ हजार रुपैंया र न्यानो कपडाका लागि १० हजार रुपैंया वितरण नभएको भनी परेको गुनासो र जिल्लामा भूकम्पपीडितको सूची बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क पुनः सङ्कलन गर्ने तयारी गरेको प्रजिअ ढकालले बताए।
 
प्रजिअ ढकालले भन, नुवाकोटमा ६० हजार घर भूकम्पबाट प्रभावित भएको प्रारम्भिक तथ्याङ्क रहे पनि यो सङ्ख्या बढेर ७६ हजार पुगेको छ, पछि छुट भएका झन्डै दश हजार समेत गर्दा ८६ हजार घरधुरी हुन्छ, पुनः विद्युतीय माध्यमबाट तथ्याङ्क सङ्कलनपछि सो सङ्ख्या घटेर ५५ हजारको हाराहारीमा आउने हाम्रो अनुमान छ। रासस