प्रधानमन्त्री केपी ओलीकोे पहिलो विदेश भ्रमण भारत नै हुने

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी ओलीकोे पहिलो विदेश भ्रमण भारत नै हुने भन्दै त्यसपछि सबैखाले आपूर्ति सहज हुने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल भइरहेको भन्दै भारतसँगको असमझदारी अब कम हुँदै जाने विश्वास व्यक्त गरे ।
आन्दोलनरत् मधेसी मोर्चाबाट स्पस्ट माग आएको भन्दै मन्त्री थापाले माग सम्बोधनको स्पस्ट खाका पनि तयार भइसकेको दाबी गरे ।
सीमांकनको विषय सहमतिका आधारमा ३ महिनामा टुंग्याइने भन्दै उनले नागरिकता, निर्वाचन क्षेत्रलगायतका विषयमासमेत चाँडै सहमतिमा पुगिने बताए ।
छिमेकी मुलुक चीनसँगसमेत महत्वपूर्ण सम्झौता गर्नेगरी छलफल अगाडि बढिरहेको भन्दै उनले भारतसँगको परनिर्भरता कम गर्नुपर्नेमा जोड दिए ।
स्थानीय विकासमन्त्रीसमेत रहेका थापाले आगामी २ वर्षमा प्रत्येक गाविसमा सडकको पहुँच पुर्‍याइने दाबी गरे ।
संक्रमणकालमा खारेज गरिएको पृथ्वी जयन्तीलाई यही वर्षदेखि पुनःस्थापना गर्न मन्त्रिपरिषदमा आफूले प्रस्ताव लैजाने पनि उपप्रधानमन्त्री थापाले बताए ।  इमेजखबरमा समाचार छ ।