असिना पानीसँगै परेको हिमपातले गोरखाको लाप्राकस्थित गुप्सीपाखामा रहेको भूकम्पपीडितको टहरो ढाकेको छ। रातभरको हिमपातले भूकम्पपीडित बस्दै आएको टहरो ढाकेको हो। जताततै हिउँले सेत्तामे देखिएको छ। सेतोपाटीमा समाचार छ ।
वैशाखमा गएको ‘गोरखा भूकम्प’ पछि लाप्राकबाट बिस्थापित भएका ५९५ घरधुरीका लाप्राकीहरू टहरो हालेर गुप्सीपाखामा बस्दै आएका छन्। दुई हजार ७०० मिटर उचाईको गुप्सीपाखा हिउँले सेत्तामे भएपछि बढेको चिसोले बृद्धबृद्धा र बालबालिका थप पीडामा परेको स्थानीयले टेलिफोनमा बताएका छन्।
गएराति हिउँ पर्नुअघि हावाहुरीसहित असिना पानी बर्षेको थियो। हावाहुरीले भूकम्प पीडितका टहरो छाएको त्रिपाल र जस्तापाता उडाएको छ। केही टहरो भत्किएको छ। बिहानदेखि हिउँ पर्न रोकिएको जानकारी दिँदै लाप्राककी भूकम्पपीडित सुनिता गुरुङले चिसोले गर्दा टहरो बाहिर निस्कन नसकिएको बताइन्।
भूकम्पपीडितहरू आगो तापेर बसेका छन्। गाउँभन्दा माथिका डाँडाहरूमा तीन फिटसम्म हिउँ परेपनि गाउँमा भने बाक्लो हिउँ परेको छैन। ‘चिसोले सतायो। घरबाहिर निस्कन सकिँदैन’, गुरुङले भनिन्, ‘एउटा कम्मल कसले ओढ्ने?’ टहरोमा पानी चुहिएकाले भएका थोत्रा कपडा पनि भिजेका छन्। भिजेका कपडा आगोमा सेकाएर लगाउनुपरेको उनको भनाइ छ।
स्याँठले गर्दा बिहान, बेलुकी बस्न गाह्रो भएको भन्दै केही भूकम्पपीडित यसअघि नै पूरानो लाप्राक फर्किएका थिए। हिउँबाट बच्न उनीहरुले ढुङ्गाको खातैखात लगाएर जस्तापाताले छाएको घर बनाएका छन्। दुई हजार १०० मिटर उचाइमा रहेको लाप्राक गाउँमा पनि हिउँ परेको छ। ‘गुप्सीमा जस्तो बाक्लो हिउँ तल गाउँमा परेन’ गुरुङले भनिन्।
गुम्दा गाउँमा पनि हिमपात भएको छ। केरौंजा, काशीगाउँ, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत र छेकम्पारलगायत उत्तरी भेगमा पनि हिमपात भएको छ।
त्यस्तै भूकम्पको केन्द्रबिन्दू बारपाक गाउँ, घ्याच्चोकको उपल्लो भेगमा पनि हिमपात भएको हो। बारपाक-४ का तेजबहादुर घलेका अनुसार बारपाक गाउँमा हल्का मात्रै हिउँ परेको छ। गएराति भने भीषण असिना पानी परेको थियो। ‘मञ्चेडाँडासम्म हिउँ पर्यो’ घलेले भन्ो, ‘गाउँमा असिना पर्यो।’ असिनाले त्रिपालले छाएका टहराहरु च्यातेको छ। स्नान गाउँमा टेण्ट, त्रिपालले छाएका ३० भन्दा बढी टहराहरु छन्।
बारपाकका भूकम्पपीडित आगो तापेर बसेका छन्। ‘अगेनाछेउ बसेका छौं’ घलेले भन्ो, ‘बाहिर निस्कन सकिँदैन। चिसो हावा चलेको छ।’ त्रिपाल च्यातिएका भूकम्पपीडितहरु भने रातभर पानीमा रुझेका थिए। बारपाक-५ दलितबस्तीका भूकम्पपीडित आफ्नो थातथलो छाडेर वडा नं. ४ को अर्काको जग्गामा बस्दै आएका छन्। उनीहरु सबैभन्दा धेरै पीडामा परेको बताइन्छ।
सौरपानी, स्वाँरा, खरिबोट, हंशपुर क्षेत्रमा चिसो बढेको छ। हावाहुरीले गर्दा टहरोमा बसेका भूकम्पपीडित समस्यामा छन्। घरसंगै न्यानो कपडा पुरिएपछि भूकम्पपीडितहरुले जाडो थेग्न नसकेका हुन्। सरकारले न्यानो कपडा खरिदका लागि १० हजार रुपैंयाका दरले रकम बाँड्न गरेको ढिलाइले भूकम्पपीडितले कपडा किन्न पाएका थिएनन्।
जिल्ला दैवीप्रकोप उद्धार समितिका सदस्य सचिव प्रेमराज गिरीका अनुसार अहिलेसम्म ३८ गाबिसमा राहत रकम बाँडिएको छ। गोरखामा ६० गाबिस र दुई नगरपालिका छन्। ‘१२ गाबिसमा बाँड्ने रकम नै निकासा भएन’ गिरीले भन्ो, ‘रकम निकासा हुने बित्तिकै बितरण गरिन्छ।’ जिल्लामा पहिलो चरणमा ४० करोड रुपैंया मात्रै आएको थियो।
जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार न्यानो कार्यक्रमका लागि जिल्लामा ७० करोड रुपैंया आवश्यक पर्छ। दुई नगरपालिका र १२ गाबिसमा बितरण गर्नुपर्ने रकम नआएको हो। गोरखा नगरपालिका र पालुङटार नगरपालिका केही भूकम्पपीडितले अझै १५ हजार रुपैंया राहत रकम नपाएको गुनासो गरेका छन्।
राहत लिन अयोग्य मानिसहरुले पनि भूकम्पपीडित भएको बताउँदै राहत बुझेपछि उजुरी परेकाले राहत बितरणमा ढिलाइ भएको हो। नौ हजार ओटा निवेदन परेपनि जिल्ला दैवीप्रकोप उद्धार समितिले सात हजार ओटा निवेदन उपर छानबिन गरेको हो।
गत असारमा उक्त छानबिन समिति बनेपनि अहिलेसम्म टुंगो लगाएको छैन। वास्तविक भूकम्पपीडितहरु छुटेका भए १५ हजारका साथै १० हजार रुपैंया राहत दिने समितिले निर्णय गरिसकेको छ। बढ्दो चिसोमा पनि राहत रकम नपाएको भन्दै नगरबासीले बिरोध गर्दै आएका छन्। भूकम्पपीडितहरु घर बनाउन सरकारले अनुदान रकम दिनुपर्ने बताउँदै झिनो मसिनो रकम बितरण भएकोमा बिरोध गर्छन्। सेतोपाटीमा समाचार छ ।
हेर्नुहोस् हिमपातपछि बारपाक, लाप्राक क्षेत्र। तस्वीरहरु : सेतोपाटी