काठमाडौँ उपत्यकासहित देशका पूर्वी भेगमा बढी चिसो महसुस

 उच्च वायुमण्डलीय न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बद्ली भई आज काठमाडौँ उपत्यकासहित देशका पूर्वी भेगमा बढी चिसो महसुस गरिएको छ।  
केही दिनयता उपत्यकामा तापक्रम बढ्नुका साथै न्यानोपन महसुस गरिएपनि आज न्यूनतम तापक्रम केही घटेपछि उपत्यकामा बढी चिसो भएको छ।
अघिल्लो दिनको तुलनामा आज उपत्यकामा बढी चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार शुक्रबार अधिकतम १९.४ तथा न्यूनतम तापक्रम ४.५ रहेपनि आज न्यूनतम ३.५ र अधिकतम १७ डिग्री सेल्सियसमा झरेको छ। 
मौसममा देखिएको खराबीका कारण तुलनात्मक रुपमा तापक्रम घटेकाले बढी चिसो महसुस भएको मौसमविद् विभूति पोखरेलले बताए।
उनका अनुसार उच्च वायुमण्डलीय न्यूनचाप पूर्वतर्फ सर्दै गएको र आइतबारदेखि मौसममा क्रमशः सुधार आउनेछ।
मौसमविद् पोखरेलले जाडो मौसम भएकाले चिसो सामान्य भए पनि एक्कासि न्यूनतम तापक्रम नघट्ने र केही दिनपछि मौसम सामान्य अवस्थामा पुग्ने बताए। रासस