प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला ! सरकारले भित्र्यायो प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि

भिडियो: अनलाइनखबरबाट
तपाइँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला ! प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नुभएको छ भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गरेको छ ।
प्लास्टिकबाट इन्धन निकाल्नेसम्बन्धी द्विपक्षीय समझदारीमा नास्टका प्रविधि संकायका प्रमुख डा. सुरेशकुमार ढुंगेल र इको पाटीका अध्यक्ष चिसेको मात्सुमोतोले विहीबार हस्ताक्षर गरे ।
नेपालमा यो प्रविधि नयाँ भएपनि संसारका विकसित मुलुकका लागि भने पूरानै हो । इको पाटी जापानले उपलब्ध गराएको प्रविधि र उपकरणबाट नास्टमा इन्धन निकाल्ने प्रविधिसमेत जडान गरिसकिएको छ ।
हाल जडान गरिएको प्रविधिबाट एक किलो प्लास्टिकबाट करिब एक लिटर कच्चा इन्धन निकालिएको छ ।
नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा. रवीन्द्रप्रसाद ढकालले परीक्षणकारुपमा नै प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन पाउँदा आफूहरुलाई खुसी लागेको बताए ।
नास्टले ठूलो परिमाणमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत आगामी एक महिनाभित्र भित्र्याउने उद्देश्य राखेको छ ।