प्रमुख तीन दलद्धारा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउँदै लिखित समझदारी गर्ने निर्णय

प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउँदै लिखित समझदारी गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेता र कार्यदलसहितको बैठकले मधेसी मोर्चासँग यही माघ ५ गते अगावै सहमति गर्ने निर्णय गरेका हुन् । 
प्रमुख तीन दल र मधेसी मोर्चाका तर्फबाट गठित कार्यदलको बैठकमा भएका प्रगतिको समीक्षा गर्दै बैठकले उपयुक्त विषयलाई समझदारीपत्रमा कसरी सम्बोधन गर्ने भन्नेबारे विचार-विमर्स गरेका थिए ।
तीनओटै दलले मोर्चालाई सहमतिमा ल्याएर उसको हस्ताक्षरसहित संविधान संशोधनमा सहभागी गराउने कसरत भएको बताएका छन् ।
मोर्चाको ११ बुँदे मागमध्ये अधिकांश विषय सहमतिमा पुगिसके पनि मुख्य प्रदेश सीमांकनको विषयलाई कसरी सम्बोधन गर्ने भन्नेमा दल छलफलमै छन् ।
यद्यपि, उक्त विषयलाई कुन भाषाबाट कति अवधिमा सम्बोधन गर्ने भन्नेबारे शनिबार दिउँसो बस्ने कार्यदलको बैठकपछिको प्रगतिलाईसमेत आधार मानेर निर्णयमा पुगिने नेताहरुले बताएका छन् ।
तीन दलका नेताहरुले आइतबारसम्म सहमतिमा हस्ताक्षर गर्नेगरी सकारात्मक ढंगले कुराकानी अघि बढेको प्रतिक्रिया दिए ।
आगामी ५ गते बस्ने व्यवस्थापिका-संसदको बैठक अघि नै सहमति गर्ने गरी छलफल अघि बढेको बताइएको छ ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चालाई सहमतिमा ल्याइ उनीहरुकोसमेत हस्ताक्षरमा आगामी ५ गतेको संसदको बैठकमा संशोधन गरिने उल्लेख गरे ।
उनले मोर्चाका मागलाई आइतबारसम्म सहमति खोज्नका लागि तीन दल एकमत भएको र सहमतिको मस्यौदालाई कसरी मिलाउने, प्रदेश सीमांकनको विषयलाई कसरी लेख्ने, राजनीतिक समितिको कार्यविधि कस्तो हुने भन्नेबारे छलफल चलिरहेको बताए ।
उपसभापति पौडेलले मोर्चाका मागलाई संविधानको अनुसूचीमा राख्न पनि आफूहरुको कुनै आपत्ति नभएको तर अहिलेको जारी गतिरोध कसरी अन्त्य गर्ने भन्नेमा सबै दल सहमत भएको उल्लेख गरे ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ५ गते अघि नै सहमति खोज्ने गरी तीन दलकाबीच सकारात्मक कुराकानी भएको उल्लेख गरे ।
कार्यदलले जुन ढंगले मधेसी मोर्चासँग छलफल गरिरहेको छ, त्यसको रिपोर्ट सुनियो, त्यो सकारात्मक पाइयो । भोलिसम्म एउटा टुंगोमा पुग्ने गरी गहिरो छलफल भइरहेको छ, सकेसम्म ५ गते अघि नै सहमति खोज्ने निर्णय भएको छ- उनले भने ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आजको बैठकमा शुक्रबार कार्यदलमा भएको प्रगतिबारे समीक्षा भएको र मोर्चा सकारात्मक रहेकाले बुँदागतरुपमै लिखितरुपमा छलफल गरी सकारात्मक निष्कर्षमा पुग्नेगरी छलफल भएको बताए ।
कार्यदलका सदस्य एवं नेपाली कांग्रेसका नेता महेश आचार्यले आजको बैठकमा कार्यदलस्तरमा भएको छलफलको समीक्षा हुनुको साथै सीमांकनमा कसरी सबैको चित्त बुझ्ने गरी बुँदा समेट्ने भन्नेबारे छलफल भएको जानकारी दिए ।
सीमांकनको विषयलाई राजनीतिक सहमतिबाट टुंगो लगाउने भनिए पनि त्यसको कार्यविधि कस्तो बनाउने भन्नेबारे छलफल चलिरहेको त्यस विषयमा भोलि (आइतबार)सम्म सहमतिमा पुगिने उनले उल्लेख गरे । रासस