दुई सातादेखि फैलिएको रुघाखोकी र अत्यधिक चिसोका कारण मुगुको धैनकोट गाविसमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीया बालिकादेखि ६५ वर्षका वृद्धसम्म छन् । ईकान्तिपुरमा समाचार छ ।
स्थानीयवासी नन्दप्रसाद आचार्यका अनुसार भाइरल रुघाखोकीको प्रकोपका कारण धैनकोट-४ का देवीचन्द्र जैसीकी ३ वर्षीया छोरी, ५५ वर्षका सर्जन बुढा, ५२ वर्षका नाना जैसी, वडा नम्बर ३ का ६२ वर्षीय धर्मदत्त जैसी, ९ का ६५ वर्षीय सर्पलाल मल्ल र वडा नम्बर १ का ३८ वर्षीय कन्नसिंह नेपालीको मृत्यु भएको छ । चिसोसँगै देखिएको रुघाखोकीको संक्रमणबाट उक्त गाविसको १ देखि ९ नम्बर वडाका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।
स्थानीय स्वास्थ्य केन्द्रमा औषधि र स्वास्थ्यकर्मी नभएको र जिल्ला जनस्वास्थ्यलाई खबर गरेपछि मात्र औषधि बोकेर स्वास्थ्यकर्मी गाउँ आएको आचार्यले बताए । गतवर्ष पनि यहाँ रुघाखोकीबाट धेरैको मृत्यु भएको थियो । स्वास्थ्य केन्द्रमा औषधि उपचार गर्न नआएर परम्परागत घरेलु उपचारतर्फ लाग्दा बिरामीको मृत्यु भएको स्वास्थ्यकर्मीको दाबी छ । गाउँमा स्वास्थ्यकर्मी खटिएपछि रुघाखोकी नियन्त्रण हुँदै गएको छ । ‘औषधि उपचार नै नपाएर मृत्यु भएको चाहिँ होइन,’ धैनकोट गाविसस्थित स्वास्थ्य केन्द्रका इञ्चार्ज सन्तोष मल्लले भने, ‘अरू रोगले थला परेर स्वास्थ्य केन्द्रमा औषधि गर्न नआउँदा ज्यान गुमाएका हुन् ।’ २ सय ८० बिरामीलाई उपचार गरी निको पारिएको मल्लले बताए । ‘अहिले फाट्टफुट्ट बिरामीबाहेक अन्य सबैलाई सञ्चो भइसक्यो, उनले भने ।
निमित्त जिल्ला जनस्वास्थ्य अधिकृत थलराज डीसीले चिसोसँगै रुघाखोकीको संक्रमण फैलिँदा गाविसमा केही दमका रोगीको ज्यान गएको खबर आएको बताए । उनले भने, महामारीको रूपमा रुघाखोकी फैलिएको भने छैन ।
दुई अहेवसहित पर्याप्त औषधि प्रभावित गाविसमा पठाइसकिएको डीसीले बताए ।
यस्तै, सदरमुकाम गमगढी आसपासका क्षेत्रमा पनि मौसमी रुघाखोकीले बूढापाका तथा बालबालिका प्रभावित भएका छन् । चिसो र सुख्खा मौसमका कारण फैलिन सक्ने महामारीलाई रोक्न जिल्लास्तरमा र्यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको जिल्ला जनस्वास्थ्यले जनाएको छ । जाडोको मौसममा जिल्ला अस्पतालमा दैनिक ४० देखि ४५ जना बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये अधिकांश रुघाखोकी र दमका बिरामी रहेको निमित्त जिल्ला स्वास्थ्य अधिकृत डीसीले बताए । ईकान्तिपुरमा समाचार छ ।