पूर्वी नाका काँकडभिट्टाबाट भारतले गरेको अघोषित नाकाबन्दीको असर पूरै हट् यो

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतले गरेको अघोषित नाकाबन्दीको असर पूरै हटेको छ ।
पूर्वी नाकाबाट पूर्ववत् अवस्थामै सवारी भित्रन थालेपछि अवस्था पूर्णरुपमा सहज भएको हो ।
भारतको पानीट्यांकीबाट सबैखाले मालबाहक सवारी भित्रिरहेको मेची भन्सार कार्यालयले जनाएको छ ।
दैनिक दुई सयको हाराहारीमा सबै प्रकृतिका मालबाहक सवारी पूर्वी नाकाबाट भित्रिरहेको भन्सार प्रमुख भीमप्रसाद अधिकारीले राससलाई जानकारी दिए ।
नाकामा अहिले कुनै रोकतोक छैन-उनले भने- पूर्ण रुपमा सहज भएको छ ।
नेपाल भित्रिएका सवारीलाई भन्सार परिसरमा यार्डको व्यवस्था गरी पार्किङ गरिँदै आएको छ ।
अहिले पार्किङको पनि समस्या छैन-अधिकारीले भने-यार्ड विस्तार गरेपछि सबै सवारी अटेका छन् ।
केही समययता पूर्वी नाका खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । विशेष गरी पेट्रोलियम पदार्थको अभावले दैनिकी चलाउन अप्ठ्यारो परिरहे पनि पूर्वी नाकाबाट पर्याप्त मात्रामा ट्यांकर नेपाल प्रवेश गर्न थालेपछि पेट्रोल पम्पमा तेल प्रशस्त पाइन थालेको छ ।
यद्यपि, पूर्णरुपमा भने सहज हुन नसकेको पेट्रोलियम व्यवसायीले बताए । धेरै दिनको नाकाबन्दीको असरले गर्दा पूर्ववत् अवस्थामा फर्किन केही समय लाग्ने व्यवसायी बनाउँछन् ।
पूर्व क्षेत्रका धेरैजसो पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गरिरहेका छन् तर पनि तेल भर्न लाइन बस्नुपर्ने बाध्यता हटेको छैन । प्रशासनले पनि अवस्था सहज भएको भन्दै पेट्रोलियम पदार्थमा लागू गरेको कुपन प्रणाली बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले दुई साताअघिदेखि कुपन प्रणाली हटाएको हो । नाकाबन्दीका कारण तेल अभाव हुँदा मौज्दातमा राखिएको पेट्रोलियम पदार्थ आवश्यकता हेरेर सिफारिस दिने गरिएको थियो ।
अत्यावश्यक सेवालाई प्राथमिकतामा राखेर तेलको कुपन दिने गरिएपनि अहिले अवस्था सहज भएकाले कुपन प्रणाली हटाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले करिब तीन महिना अत्यावश्यक सेवाका लागि पेट्रोलियम पदार्थमा कुपन प्रणाली लागू गरेको थियो । त्यसबेला प्रशासनले दैनिक दुईदेखि चार हजार लिटर तेलको सिफारिस दिने गरेको थियो ।
आवश्यकता हेरेर पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रशासनले पम्पलाई सिफारिस गर्ने गरेको थियो । रासस