मोरङको रंगेली घटनाको विरोधमा जिल्ला-जिल्लामा प्रदर्शन, बजार, पसल र शैक्षिक संस्थाहरु बन्द

मोरङको रंगेलीमा विहीबार भएको घटनाको विरोधमा शुक्रबार सप्तरीमा प्रदर्शन भएको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सदरमुकाम राजविराजमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने शैक्षिक संस्था र बजार पनि ठप्प छन् ।
मोचा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै बजार, पसल र शैक्षिक संस्थाहरु बन्द गराएका हुन् ।
 
शुक्रबार महोत्तरीको सदरमुकाम जलेश्वरलगायतका क्षेत्रमा पनि प्रदशन भइरहेको छ । प्रदर्शनकारीले बजार बन्द गराएका छन् भने दुई दिनदेखि सन्चालनमा आएका सार्वजनिक यातायात सेवासमेत ठप्प पारेका छन् ।
जलेश्वर-जनकपुर सडकखन्डको पिपरा तथा सहोडवामा प्रदर्शनकारीले सडक अवरुद्ध गरेका छन् ।
यस्तै, सिरहाको लहानमा पनि मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार प्रदर्शन गर्दै बजार बन्द गराएका छन् ।
यस्तै, रंगेली घटनाको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार वीरगन्जमा पनि प्रदर्शन गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले वीरगन्जका विभिन्न चोकमा टायर बालेर सरकार र मुख्य तीन दलविरुद्ध नाराबाजी गरेका हुन् ।
आन्दोलनकारीले वीरगन्जको घन्टाघर, माइस्थान, मुर्ली, पावरहाउस चोक र लक्ष्मणवा चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले शुक्रबार वीरगन्जमा सार्वजनिक यातायातका सवारी-साधन र स्कुल बससमेत चल्न दिएनन् ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले वीरगन्जको घन्टाघर चोकमा एउटा गाडी र नेपाल दूरसन्चार कार्यालयमा तोडफोड गरेका छन् ।
यस्तै, बाराको कलैयामा पनि मधेसी मोर्चाका कार्यकर्ताले रंगेली घटनाको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले कलैयामा बजार बन्द गराउनुका साथै सार्वजनिक यातायातका सवारी-साधन पनि चल्न दिएका छैनन् ।
मोर्चाका कार्यकर्ताले कलैयाको बालमन्दिरनजिक दुईओटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
रंगेलीमा विहीबार भएको झडपमा प्रहरीले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएको थियो । इमेजखबरमा समाचार छ ।