संयुक्त संवाद तथा वातावरण सहज समितिले पहल थालेपछि बिहीबार मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा भएको हिंसात्मक घटनाबाट उत्पन्न असहज परिस्थितिमा सुधार आउन थालेको छ ।
तीन जनाको ज्यान जाने गरी भएको उक्त घटनापछि स्थानीयबासीबीच उत्पन्न त्रास अन्त्य गर्न र आपसी सद्भाव बिथोलिन नदिन मोरङ क्षेत्र नं ४ का सांसद शिवकुमार मण्डलको नेतृत्वमा गठित समितिले पहल थालेपछि रङ्गेलीको त्रास मय अवस्थामा सुधार आउन थालेको हो ।
गत बिहीबार नेकपा (एमाले)को भातृ सङ्गठन युवा सङ्घद्वारा रङ्गेलीमा आयोजित तराई मधेस जागरण अभियानअन्तर्गतको आमसभामा प्रहरी र अन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा तीनको मृत्यु भएको थियो भने आठ घाइते भएका थिए ।
थप क्षति हुन नदिन र द्वन्द्व न्यूनीकरण गर्न सर्वपक्षीय छलफलको सुझावअनुसार मोरङ प्रशासनले घटना भएको भोलिपल्ट अर्थात् माघ ८ गते सांसद मण्डलको नेतृत्वमा राजनीतिक दल, अधिकारकर्मी, उद्योगी व्यपारी, प्रहरी र प्रशासनका प्रतिनिधि, पत्रकारसहितको संयुक्त वातावरण सहज तथा संवाद समिति गठन गरेको थियो ।
समितिले शुक्रबार नै रङ्गेली पुगेर स्थानीयबासी, प्रहरी, नागरिक समाज, राजनीतिक दल र आन्दोलनरत मोर्चाका कार्यकर्तासँग भेट गरी संवाद गरेकाले त्यहाँको शान्ति सुरक्षाको अवस्थामा सुधार आउन थालेको प्रशासनले बताएको छ ।
घटनापछि उत्पन्न त्रास अन्त्य गरी वातावरण बनाउन प्रहरी प्रशासन, आन्दोलनरत मोर्चा र स्थानीय राजनीतिक दललाई सहभागी गराएर अवस्था सहज बनाउन स्थानीयस्तरमै गएर संवाद गरेपछि रङ्गेलीका बासिन्दा क्रमशः त्रास मुक्त हुन थालेको समितिका संयोजक मण्डलले बताए।
उनले घटनाले गर्दा स्थानीय सद्भाव बिथोलिने अवस्था सिर्जना भएको, युवा सङ्घ र मोर्चाका कार्यकर्ता दुवैको हठले गर्दा आपसी द्वन्द्व बढेकाले न्यूनीकरण गर्न आफू र आफ्नो समिति सक्रियतापूर्वक लागिरहेको बताए।
शुक्रबार भएको छलफलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी देवी भण्डारी, प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले कसैलाई पनि गैरकानुनी पक्राउ नगरिने र प्रहरीले संयमता अपनाएर काम गर्ने प्रतिबद्धता जनाए।
यस्तै संयुक्त मधेसी मोर्चाका स्थानीय संयोजक शङ्कर शाहले वातावरण सहज बनाउन आफ्ना कार्यकर्तालाई संयमता अपनाउन निर्देशन गर्ने प्रतिबद्धता जनाए।
स्थानीयबासीको आग्रहपछि रङ्गेली नगरपालिकामा खटाइएको प्रहरीको कडा पहरा खुकुलो बनाइएको र शुक्रबारबाटै आवागमन सहज बनेको प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले जानकारी गराए।
माघ ७ गते युवा सङ्घले तराई मधेस जागरणका अभियान भन्दै रङ्गेलीमा आमसभा आयोजना गरेको थियो । अर्कोतिर सोही दिन संयुक्त मधेसी मोर्चाले आफ्नो पूर्वघोषित कार्यक्रम भन्दै ५०० मि को दूरीमा विरोधसभा आयोजना गरेको थियो ।
यसैले मोर्चाका कार्यकर्ता उत्तेजित भएर युवा सङ्घको कार्यक्रम बिथोल्न खोज्दा प्रहरीसँग झडप भएको थियो । रासस