नयाँ शक्ति निर्माणमा लागेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्रकर्मी, जातिय दलका नेता, सेवानिवृत्त कर्मचारी तथा प्रहरी अधिकृत र पूर्व माओवादी नेता सम्मिलित ३५ सदस्यीय ”केन्द्रीय अन्तरिम परिषद” घोषणा गरेका छन्। सेतोपाटीमा समाचार छ ।
नयाँ बानेश्वरस्थित अल्फा-बिटा कम्प्लेक्सको हलमा आयोजित पत्रकार सम्मेलन तथा जलपान कार्यक्रममा भट्टराईले उक्त घोषणा गरेका हुन्!
नेपालमा लगभग १६५ निर्वाचन क्षेत्र हुने भएकाले प्रत्येक क्षेत्रबाट प्रतिनिधित्व हुने गरि जातीय र लैङ्गिक आधारमा १६५ जना कै परिषद घोषणा गर्ने हाम्रो लक्ष्य हो, कार्यक्रममा बोल्दै भट्टराईले भने, पहिलो चरणमा हामीले ३५ सदस्यीय अन्तरिम परिषद घोषणा गरेका हौं l क्रमश: सदस्य बढाउँदै लैजाने छौं।
३५ सदस्यीय परिषदमा भट्टराईसँगै एमाओवादी छाडेका देवेन्द्र पौडेल र रामचन्द्र झा मात्र छन्। हिसिला यमी, गङ्गा श्रेष्ठ, कुमार पौडेल, राम कुमार शर्मा लगायतका पूर्व एमाओवादी नेता भने विभिन्न चरणमा चरणमा परिषद प्रवेश गर्ने एक पूर्वमाओवादी नेताले जानकारी दिए। भट्टराई पत्नी यमी कार्यक्रमको तस्बिर खिच्नमा व्यस्त रहिन।
चलचित्र क्षेत्रबाट अशोक शर्मा, करिश्मा मानन्धर र सरोज खनाल सदस्य रहेका छन्। पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व कृषि सचिव नत्थु प्रसाद चौधरी, पूर्व स्वास्थ्य सचिव प्रविण मिश्र पनि परिषद सदस्य रहेका छन्। सामाजिक लोकतान्त्रिक पार्टीका चैतन्य सुब्बा र पासाङ शेर्पा तथा नेपा: राष्ट्रिय पार्टीका केशवमान शाक्य पनि नयाँ शक्ति प्रवेश गरेका छन्। पूर्व एआइजी गणेशराज राई, रिसवदेव भट्टराई र नारायण पाण्डे पनि परिषद्का सदस्य बनेका छन्।
३५ मध्ये ५ जना अर्थात करिब १५ प्रतिशत डाक्टरहरु छन्। नेपाल पीएचडी एसोसिएशनका अध्यक्ष डा. राजेन्द्र केसी नै नयाँ शक्तिमा लागेका छन्। नेपाललाई केहि बर्षभित्र नै विकसित देश बनाउन सकिने हुनाले आफू नयाँ शक्ति प्रवेश गरेको उनको भनाइ छ।
कार्यक्रमका उद्घोषण पूर्व माओवादी नेता तथा पत्रकार मुमाराम खनालले गरेका थिए। उनी पनि परिषदका सदस्य भएका छन्।
उद्योगपति तथा अरबपति विनोद चौधरीले नयाँ शक्तिलाई बधाई ज्ञापन गरे। निजी क्षेत्रको विकास बिना देश विकास हुन नसक्ने भन्ने बाबुराम भट्टराईको राजनीतिक एजेण्डा सहि भएको उनको धारणा थियो। तर उनले आफू नयाँ शक्तिमा नलागेको पनि स्पष्ट पारे।
पार्टी कमिटीलाई पुर्ण समानुपातिक बनाउने, दुई अंकको आर्थिक विकासका लागि नयाँ खाका तयार गर्ने र पार्टीमा पारदर्शिता कायम गर्ने भट्टराईले घोषणा गरे। आजैदेखि बबरमहलमा नयाँ पार्टी कार्यालय सुरु गरेको पनि उनले जानकारी दिए।
नेपाली राज्यको नयाँ कार्यभार ‘आर्थिक विकास र पारादर्शीता’ हुनुपर्ने घोषणा गरेका भट्टराई पत्रकारको आक्रमणमा परिहाले।
सेवानिवृत्त र हजुरबुवाजस्ता राज्य संचालन गरिसकेका पुराना व्यक्तिलाई पार्टीमा ल्याएर तपाईं कुन नयाँ शक्ति बनाउँदैहुनुहुन्छ? यो त पुरानो शक्ति भएन र ? एक पत्रकारले सोधे।
भट्टराईको उत्तर थियो, हाम्रो पार्टी उमेरगत हिसावले पनि समानुपातिक नै हुन्छ । विचार र अनुभवका लागि बुढा मानिस चाहिन्छ, कार्यन्वयनका लागि युवा।
अर्का पत्रकारले प्रश्न गरे, राज्यसत्ता परिवर्तनका लागि नयाँ शक्तिले हिंसाको अनिवार्यता देख्छ कि देख्दैन ?
हामी हिंसाको बाटो अवलम्वन गर्दैनौं, जवाफ दिँदै भट्टराईले भने, कानुनी आधारमा नै अघि बढ्छौं। निर्वाचन आयोगमा पार्टी दर्ता गरेर प्रतिष्पर्धाको राजनीति अवलम्वन गर्नेछौं।
अर्को प्रश्न भने उनको आइडियोलोजीका बारेमा थियो, तपाईंको आइडियोलोजी चैं के हो?
भट्टराईले मार्क्सवाद, लेनिनवाद र माओवाद छाडेको कुरा प्रष्ट रुपमा नै राखे, हाम्रो लक्ष्यका आधारमा आइडियोलोजी हुन्छ। लक्ष्य प्राप्त गर्न जुन आइडियोलोजी काम दिन्छ त्यहि हो आइडियोलोजी।
आफ्नो पार्टीको नाममा कुनै कम्युनिष्ट नाम नाजोड़ने उनले घोषणा गरिसकेका छन्l मार्क्सवाद, लेनिनवाद वा माओवाद नामले मानिस तर्सने र आफ्नो प्रमुख एजेण्डा आर्थिक विकास भएकाले यस्तो नाम राख्नु उपयुक्त नहुने उनको तर्क छ।
आजदेखि नै पार्टीमा आर्थिक पारदर्शिताको काम सुरु गरिएको पनि भट्टराईले घोषणा गरे। प्रत्येक व्यक्तिबाट एक-एक हजार उठाएर आजको पत्रकार सम्मेलन र जलपान गरेको जानकारी उद्घोषक मुमाराम खनालले जानकारी दिएका थिए। सेतोपाटीमा समाचार छ ।