तीन/चार दिनदेखि बढेको जाडो छल्नका लागि महोत्तरीको जलेश्वरमा नेपाली सेनाद्धारा आगो र चियाको व्यवस्था

तीन/चार दिनदेखि बढेको जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज एकाबिहानै आगो र चियाको व्यवस्था गरेको छ ।
गत शनिबारदेखि जिल्लामा असहनीय जाडो भएपछि स्थानीय बासिन्दा तथा सडकमा रात बिताउनेलाई ध्यानमा राख्दै जलेश्वरस्थित नेपाली सेनाको फस्ट राइफल गणले जलेश्वरको मटिहानी चोक, दुर्गा चोक र शङ्कर चोकमा दाउरा ल्याएर आगो बालेको छ ।
त्यस्तै तीनवटै स्थानमा नेपाली सेनाले निःशुल्क चियाको व्यवस्था पनि गरेको सो गणका गणपति युवधिरमान सिंह अधिकारीले बताए ।
गणपति अधिकारीका अनुसार केहीदिनदेखि जिल्लामा बाक्लो हुस्सु, शीतलहर र चिसो हावाले जाडो बढेकाले स्थानीयलाई लक्षित गर्दै जलेश्वरको तीन स्थानमा दाउरा बाल्नुका साथै चियाको व्यवस्था गरिएकोे हो ।
नेपाली सेनाले गरेको दाउरा र चियाको व्यवस्थाबाट सयौँ व्यक्ति लाभान्वित भएका छन् भने सेनाको यस कार्यलाई निरन्तरता दिन स्थानीय बासिन्दाले जिल्लाको गाउँतिर पनि यस्ता कार्यक्रम गर्न माग गरेका छन् । (रासस)