गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासद्वारा ४० वटा एम्बुलेन्स र ८ वटा बस उपहार
माघ १२ गते, २०७२ मा प्रकाशित
भारतीय दूतावासले आफ्नो ६७ औं गणतन्त्र दिवस मनाएको छ। दूतावासले मंगलबार दूतावास परिसरमा एक समारोह गरी आफ्नो ६७ औं गणतन्त्र दिवस मनाएको हो।
समारोहमा राजदूत रञ्जित रेले भारतीय झण्डा फहराई राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाएका थिए। आफ्नो गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ४० वटा एम्बुलेन्स तथा ८ वटा बस उपहारस्वरुप प्रदान गरेको छ।
राजदूत रञ्जित रेले एम्बुलेन्स र बसको साँचो सम्बन्धित संस्थाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरे। भारतले २२ वर्षको अवधिमा नेपालका स्वास्थ्य तथा परोपकारी संस्थाहरुलाई ५ सय ४२ वटा एम्बुलेन्स तथा शिक्षण संस्थालाई १ सय ६ वटा बस प्रदान गरेको छ।
दूतावासले नेपालका विभिन्न स्थानमा रहेका ७५ वटा पुस्तकालयलाई पुस्तक प्रदान गरेको छ। कार्यक्रममा भारतीय सेनाका नेपाली भूपूका विधवा र आश्रित परिवार तथा शारीरिक रुपमा अशक्त भूपू सैनिकहरुलाई सहयोग रकमको चेक र कम्बल प्रदान गरिएको थियो । सेतोपाटीमा समाचार छ ।