भूकम्पपश्चात शैक्षिक राहत तथा मनोविमर्श सहयोगका लागि ‘ग्लोबल एक्सन नेपाल’ र ‘ज्ञान रिसर्च एण्ड लर्निङ्ग रिसोर्स सेन्टर’ ले पाँच जिल्लामा २७ जना राष्ट्रिय स्तरका युवा स्वयमसेवक परिचालन गरेको छ ।
भूकम्प तथा भविष्यमा आइपर्न सक्ने विपत्तीको कारणले असहज स्थितिमा रहनुपर्न सक्ने अवस्थामा स्थानीयस्तरका युवामा तालिम तथा आवश्यकता अनुसार बालबालिका तथा अभिभावकमा मनोसामाजिक सेवा प्रदान गर्ने सीप अभिवृद्घि गराउन मद्दत गरेको ज्ञानका निर्देशक बाबुकाजी श्रेष्ठले बताए।
स्वयंसेवकले तत्कालीन उद्घार गर्न सकिने संभावित उपायसम्बन्धी जानकारी तथा अभ्यास र हरेक कार्य क्षेत्रमा लामो समय सम्म टिकाउ हुने किसिमका २० अस्थायी सिकाई केन्द्र स्थापना गराएका थिए। यस्तै ती केन्द्रका कक्षा कोठालाई बालमैत्री कक्षाकोठा निर्माण गरिएको थियो।
टोलीले २१० सामुदायिक विद्यालयका शिक्षकका लागि बालमैत्री कक्षा सृजनशिल सिकाईसम्बन्धी सञ्चालन गरेको थियो। स्वयंसेवकको सम्मानमा आज यहाँ आयोजित कार्यक्रममा शान्ति तथा पुनः निर्माण मन्त्री एकनाथ ढकालले प्रमाणपत्र प्रदान गरे।
मन्त्री ढकालले युवा नै राष्ट्रको आधार भएकाले देश निर्माणको अभियानमा युवाको भूमिका अहम हुने बताए। रासस