तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएपछि पर्साको पोखरियाका बासिन्दा त्रासमा

तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएपछि पर्साको पोखरिया नगरपालिका-४ सतवरिया टोलका बासिन्दा त्रासको जीवन यापन गर्न बाध्य भएका छन्। जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र २६ जना व्यक्तिको मृत्यु भएपछि टोलका बासिन्दा महामारी वा दैव्यप्रकोप परेको भन्दै चिन्तित भएका हुन्। 
 
तीन महिनाकी नातिनीलाई अपराह्न्न तेल लगाई सुताएको र उनको सुतिरहेकै अवस्थामा मृत्यु भएको हजुर आमा श्रीपती देवी ठाकुरले बताए। उनले तेल लगाई सुताएको एक घण्टा नबित्दै नातिनीको मृत्यु भएको जानकारी दिए।  स्थानीय साहेब बाबुप्रसाद कानुलाई विगत एक महिनादेखि ज्वरो आएपनि काठमाडौँको शिक्षण अस्पतालमा समेत उपचार गराउँदा कारण पत्ता लगाउन नसकेको उनका पिता शम्भुप्रसाद कानुले बताए।  
 
विगत तीन महिनाभित्र टोलमा रहेका २६ जनाको मृत्यु भएपछि देउताको प्रकोप लागेको होकी भन्दै सतवरिया टोलका बासिन्दाले अस्ठजाम तथा पाठ पूजाको आयोजना गरी देउता खुसी पार्न लागेका छन्। 
अज्ञात रोगका कारण १२ वर्षमुनिका आठ, १२ वर्षदेखि ५५ वर्षका छ र ७५ देखि १०२ वर्षबीचका १२ गरी २६ जनाको मृत्यु भएको जिल्ला जन स्वास्थ्य कार्यालयका अधिकृत राजकिशोर प्रसादले जानकारी दिए। उनले मृत्यु भएको विषयमा लगत सङ्कलन गरीएको र रोग पत्ता लगाउन जन स्वास्थ्य कार्यालयमार्फत सम्बन्धित निकायमा पहल गरिएको बताए। रासस