कांग्रेसको १३ औं महाधिवेशनको प्रक्रिया देशभर एकैसाथ शुरु

नेपाली कांग्रेसको १३ औं महाधिवेशनको प्रक्रिया आजदेखि देशभर एकैसाथ शुरु भएको छ । स्थानीय नेतृत्व चयनका लागि आज गाउँ, नगर वडा र नगर अधिवेशन शुरु भएको हो ।
अधिवेशनमा सबै गाविस र नगर वडाबाट झन्डै १ लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी र सदस्य निर्वाचित हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
पार्टीको केन्द्रीय नेतृत्व छनोटमा समेत प्रभाव पार्ने भएकाले संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच गाउँ तहदेखि नै प्रतिस्पर्धा शुरु भएको छ । लगभग चार लाख ७३ हजार क्रियाशील सदस्यहरुले यो अधिवेशनमा सहभागिता जनाउँदै छन् ।
निर्वाचनमा क्रियाशील सदस्यहरुले नयाँ कार्यसमितिका साथै आदिवासी जनजाति, मधेशी, अल्पसंख्यक, दलित, महिला लगायत १२ जनासम्म क्षेत्रीय तथा जिल्ला प्रतिनिधि चयन गर्ने छन् । यस्तै नगर र वडा तहमा पनि नयाँ कार्यसमिति बनाउँदै ३ देखि ६ जनासम्म क्षेत्रीय तथा स्थानीय प्रतिनिधिहरु चयन गर्ने छन् ।
यसरी चयन भएका प्रतिनिधिहरुले नै माघ २२ गते हुने क्षेत्रीय अधिवेशनबाट केन्द्रीय प्रतिनिधि तथा महासमिति सदस्यको चयन गर्ने छन् । निर्वाचन समितिले आज हुने निर्वाचनका लागि शहरदेखि गाउँ तहसम्म गरी करिब ६ हजारको हाराहारीमा मतदान अधिकृतहरु तोकेको छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुने छ । इमेजखबरमा समाचार छ ।