मधेस आन्दोलनमा भारतको बिहार राज्यका नेताहरूको समर्थन जुटाउन मधेसी मोर्चाका शीर्ष नेताहरु बिहार जानेभएका छन् । निकट स्रोतले जानकारी दिए अनुसार भारत-नेपाल यात्रा संवाद कार्यक्रममा सहभागी हुन मोर्चामा आबद्ध चारै दलका प्रमुख नेताहरु बिहार जान लागेका हुन् ।
मुजफ्फरपुरको प्रेस क्लब सभा हलमा माघ १७ गते मिडिया फर बोर्डर हार्मोनी र भारत नेपाल मैत्री संघले मधेस आन्दोलनको बारेमा कार्यक्रम आयोजना गर्दैछ ।
स्थानीय पत्रकार अरमेन्द्र तिवारीका अनुसार सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।
सो कार्यक्रममा मधेस आन्दोलन र त्यसमा भारतीय भुमिका बिषक अन्तरक्रिया कार्यक्रमको ओयाजना गरिएको छ । त्यसमा मोर्चाका शीर्ष सबै नेताहरुलाई आमन्त्रित गरिएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले बताए ।
कार्यक्रम बिहारमा सत्ताधारी राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पूर्व केन्द्रिय मन्त्री रघुवंशप्रसाद सिंहको अध्यक्षतामा आयोजना गरिदैंछ । नेता सिंह पछिल्लो केही समयदेखि नेपालसँग सीमा जोडिएको भारतीय बजारहरूमा मधेस आन्दोलनको समर्थनमा कार्यक्रम गर्दै आइरहेको छन् ।
मधेसी नेताहरु सोमबार बिहारको राजधानी पटना जाने र मुख्यमन्त्री नितिश कुमार र राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवसहित भारतीय जनता पार्टीका नेताहरुलाई समेत भेट्ने कार्यक्रम रहेको समाचार श्रोतको दाबी छ ।
भेटघाटमा मधेसी नेताहरुले सविधान संशोधनबाट आफूहरुको माग पुरा नभएको विषयमा जानकारी गराउने कार्यक्रम रहेको संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले जनाए । इमेजखबरमा समाचार छ ।