जनकपुर र राजविराजमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज-अश्रुग्यास प्रहार

जनकपुरमा  प्रहरी दमनविरुद्ध भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।
आइतबारको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै मोर्चा कार्यकर्ता सोमबार बिहानैदेखि विरोध प्रदर्शनमा उत्रिएका हुन् । त्यसक्रमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाको भानुचोकस्थित घर घेराउ गर्न गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सोमबार पनि लाठीचार्ज गर्नुका साथै एक सेल अश्रुग्यास प्रहार गरेको छ ।
मोर्चाका कार्यकर्ताले आइतबारको घटनाको विरोध गर्दै सोमबार महोत्तरी र धनुषामा यातायात, बजार र शैक्षिकसंस्था बन्द गराएका छन् ।
पाँच महिनापछि गत बुधबारदेखि मात्रै सञ्न्चालनमा आएको सार्वजनिक यातायात सेवा फेरि बन्द हुँदा महोत्तरी र धनुषाका जनता मारमा परेका छन् ।
सप्तरीको राजविराजमा पनि प्रहरी र मोर्चाका कार्यकर्ताबीच सोमबार झडप भएको छ ।
राजविराजमा भइरहेको नेपाली कांग्रेस अधिवेशन बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा मधेसी मोर्चाका केही कार्यकर्ता घाइते भएका छन् ।
अहिले अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । – इमेजखबरमा समाचार छ ।