कांग्रेस वरिष्ठ नेता देउवाद्वारा मोर्चाको गतिविधिको घोर निन्दा र भर्त्सना

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेधशी मोर्चामा आवद्ध अराजनीतिक र हिंस्रक जत्थाले पार्टीका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य विमलेन्द्र निधिलगायतका नेताको घरमा पुर्‍याएको क्षतिको घोर निन्दा र भर्त्सना गरेका छन् ।
मोर्चाका कार्यकर्ताले केही दिनअघि निधिको घरको पर्खाल भत्काई घरभित्र राखेको मोटरसाइकल आगजनी गरेका थिए ।
यस्तै नेपाली कांग्रेसका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य लीला कोइराला र सांसद् रामकृष्ण यादवको घरमा ढुङ्गामुढा गरी पुर्‍याएको क्षतिको वरिष्ठ नेता देउवाले आज विज्ञप्तिमार्फत भर्त्सना गरेका छन् ।
पार्टीको अधिवेशनका सन्दर्भमा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरु बिथोल्न उद्दण्ड र अराजक समूहले गरेका गैरकानूनी र अराजक गतिविधिलाई तुरुन्त रोक्न र घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न नेता देउवाले माग गरेका छन् ।
पार्टीको अधिवेशनको स्थानीयदेखि केन्द्रीय तहसम्म लोकतान्त्रिक अभ्यास भइरहेको अवस्थामा अवरोध पुर्‍याउने र कार्यकर्तालाई हतोत्साहित नगर्न सम्बद्ध राजनीतिक दलहरुलाई उनले विज्ञप्तिमार्फत सचेत गराएका छन् । (रासस)