अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधान संशोधन गर्न माग गरेको छ।
अख्तियारको टोलीले बिहीबार राष्ट्रपति विद्या भण्डारीलाई भेटेर संविधान संशोधनका लागि पहल गरिदिन आग्रह गरेको हो। आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आयोगको २५ औं वार्षिक प्रतिवेदन बुझाउने क्रममा आयोगको क्षेत्राधिकार बढाउने गरी संविधान संशोधनका लागि पहल गरिदिन आग्रह गरेका हुन्।
उनले संविधानमा आयोगको क्षेत्रधिकार कटौति गरिएको र त्यसले भ्रष्ट्राचार नियन्त्रणको काममा शिथिलता आउने देखिएको भन्दै भ्रष्ट्राचारीहरु कसैलाई पनि नछोड्नका लागि आयोगको क्षेत्राधिकार बढाउन अनिवार्य रहेको बताए।
अख्तियारका प्रमुख आयुक्त कार्कीले राष्ट्रपति भण्डारीसामु मन्त्रीपरिषद्बाट निर्णय गराएर भ्रष्ट्राचार गर्ने क्रम बढेको भन्दै सामान्य प्रशासनिक निर्णयबाट हुने काम मन्त्रीपरिषद्मा लाने प्रवृत्ति रोक्नका लागि पनि आग्रह गरे।
अख्तियारले मन्त्रीपरिषद्बाट हुने निर्णयमा छानविन गर्न पाउँदैन । अख्तियारलाई छल्नका लागि मन्त्रीहरुले मन्त्रीस्तरीय निर्णयबाट हुने काम मन्त्रीपरिषद्बाट निर्णय गराएर गराउने प्रवृत्ति बढेको छ । सेतोपाटीमा समाचार छ ।