प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयद्वारा आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर घट्दै गइरहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ । साथै, मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक सवारी साधनको भाडा घटाउन पनि निर्देशन दिएको छ ।
प्रधानमन्त्री मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बिहीबार आपूर्ति मन्त्रालयमार्फत निगमलाई अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घट्दै गइरहेकोले स्वचालित मूल्य प्रणाली अनुसार मुल्य समायोजन गर्न निर्देशन दिएको हो । अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मुल्य ३२ डलरमा झरेको छ ।  
कार्यालयले सार्वजनिक सवारी साधनको भाडा घटाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्णय अनुसार आयल निगमलाई मूल्य घटाउन लिखित निर्देशन दिएका छौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले कान्तिपुरसँग भने ।
अन्तर्राष्ट्रिय बजार र नेपाली बजारमा इन्धनको मूल्य घटे पनि सवारीसाधनको भाडा नघटाइएपछि निर्देशन दिएको प्रवक्ता खत्रीले बताए । कान्तिपुरमा समाचार छ ।