वीरगन्ज-रक्सौल नाका खुलेपछि नेपाल-भारत दुबैतर्फका व्यापारीलाई राहत महसुस

१ सय ३५ दिनपछि अवरोध छिचोल्दै वीरगन्ज-रक्सौल नाका खुलेपछि नेपाल-भारत दुबैतर्फका व्यापारीले राहत महसुस गरेका छन् ।
संविधान निर्माणका क्रममा आफ्ना मुद्दाहरु नसमेटिएको भन्दै आन्दोलनमा होमिएका केही मधेसी दलले ठूला राजनीतिक दलका नेतालाई गलाउन भन्दै दुई देशबीचको जीवनसँग जोडिएका सीमानाकामा चार महिनाभन्दा लामो समयदेखि अवरोध गर्दै आएका थिए ।
यसैबीच, शनिबार स्थानीय मधेसी मोर्चाका नेताहरुले सार्वजनिक गरेका बन्द र मसाल जुलुसको कार्यक्रम फिर्ता लिएका छन् ।

बन्दको कार्यक्रम स्थगित
शनिबार साँझ मसाल जुलुस गर्ने र आइतबार वीरगन्ज बन्द गर्ने तय भएको कार्यक्रम फिर्ता लिएको मधेसी मोर्चाका नेताले बताएका छन् ।
उनीहरुले केन्द्रबाट अर्को निर्णय नहुन्जेलसम्मका लागि भन्दै कार्यक्रम फिर्ता लिएका हुन् ।

नाकाबन्दीपछि वीरगन्जबाट पहिलोपटक ग्यास बुलेट भित्रिए
नाकाबन्दीपछि शनिबार दिउँसो पहिलोपटक वीरगन्ज-रक्सौल नाकाबाट ग्यासका बुलेट भित्रिएका छन् । ग्यासका तीन बुलेट नेपाल भित्रिएका हुन् ।
त्यस्तै, एउटा डिजेलको ट्यांकर पनि नेपाल भित्रिएको छ ।
मितेरी पुलमा झडप
शनिबार दिउँसो नाका बन्द गर्न मितेरी पुलमा गएका मधेसी मोर्चाका नेता तथा कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् ।
मितेरी पुलमा नारा लगाउन खोज्दा भारतीय ढुवानीकर्ता र स्थानीयले विरोध जनाएपछि केहीबेर झडप भएको थियो ।
१० मिनेटको झडपपछि मधेसी मोर्चाका कार्यकर्ता फर्किएका थिए ।  इमेजखबरमा समाचार छ ।