कैलाली र कन्चनपुरसहितको थरुहट प्रदेशको माग गर्दै सुरु भएको आन्दोलन सात महिनामा

कैलाली र कन्चनपुरसहितको थरुहट प्रदेशको माग गर्दै सुरु भएको आन्दोलन सात महिनामा पुगेको छ । सुरुमा आमसभा, र्‍याली जुलुश, अन्तक्र्रिया लगायतका विभिन्न  कार्यक्रम गर्दै आएका थरुहट आन्दोलनकारीले साउन २२ देखि पहिचान र थहरुटको माग गरी आन्दोलन गर्दै आएका छन् ।
टीकापुर घटनापछि थरुहट आन्दोलनमा केही शिथिलता आएपनि आन्दोलन नरोकिएको थरुहट आन्दोलन कैलालीका संयोजक कृष्णकुमार चौधरी कुन्दन ले बताए । पहिचान र संघीयताका लागि भइरहेको आन्दोलन माग पुरा नभएसम्म जारी रहन्छ उनले शनिवार कैलालीको पहलमानपुरमा आयोजित कार्यक्रममा भने ।
पहिचानको मुद्दा बोकेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक मुद्दा सम्बोधन नभइ सरकारमा सहभागी भएकोले थारुको आन्दोलन केही कमजोर भएको थरुहट संघर्ष समितिका प्रवक्ता माधव थारुले बताए । आन्दोलनका बलमा केही सिमित व्यक्तिले फाइदा लिएको महसुस थारु समुदायमा भएको छ उनले भने, फोरम लोकतान्त्रिकले सरकार छोड्ने वित्तिकै थारु आन्दोलनले फेरी गति लिन्छ ।
सभासद जनक चौधरीले केपी ओली नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिक सात बुदे सहमतिमा गएको र त्यो सहमति कार्यान्वयनतर्फ अधि नबढे चाडै सरकार छोड्न सक्ने बताए । उनले भने, सरकारले मंसीर १७ गते नै टीकापुर घटनामा संलग्न आरोपमा पक्राउ परेकाहरुको मुद्दा खारेज गर्ने र आगजनी भएका घरकालाई क्षतिपुर्ति दिने निर्णय भएको छ । निर्णय कार्यान्वयन नभए धेरै समय सरकारमा बस्दैनौं ।
भदौ ७ को घटनामा थारुलाई एकतर्फी रुपमा आतंकारी देख्ने सरकारले भदौ ८  टीकापुरमा भएका थारुका घरमा आगजनी गर्नेलाई कुनै कारवाही नगर्नुले राज्यको पक्षपातपुर्ण व्यवहार स्पष्ट भएको उनले बताए ।  उनले भने-भदौ ७ गतेको घटना शेरबहादुर देउवा र भीम रावलका कारणले भएको स्पष्ट हुदाहुदै २२ जना थारुलाई पक्राउ गरी जेलमा राखेको छ । ८ गतेको घटनाको जिम्मा यो देशका शासकले लिने कि नलिने ?
 जनसभामा टीकापुर घटना गराएको आरोपमा निर्दोष थारुलाई पक्राउ गरेको र उनीहरुलाई तुरुन्त बिना सर्त रिहा गनुपर्ने आन्दोलकारी नेताले माग गरे । सभामा डा .ओम गुरुङ्ग, अशोक राई, देव गुरुङ्ग, सभासदहरु जनक चौधरी, गंगा थारु, कासीम अली सिद्धिकी लगायतका वक्ताले सम्बोधन गरका थिए । ईकान्तिपुरमा समाचार छ ।