सुशील कोइरालाले भनेका थिए- अब क्यान्सर जितें

संविधान निर्माणपछि क्यान्सरको अन्तिम रिपोर्ट लिन अमेरिका पुगेका कांग्रेस सभापति सुशील कोइरालाले नेपाली समूदायसँग भनेका थिए- अब क्यान्सर जितें ।
क्यान्सर जितेको खुसीमा लामो समय अमेरिकामै घुमफिरमा बिताएका कोइराला काठमाडौं फर्केलगत्तै महाधिवेशनमा होमिए । आफूलाई बिरामी भएकाले आराम गर्नुपर्ने नेताहरुको दबाब प्रतिवाद गर्दै कोइरालाले केही दिनअघिमात्रै भक्तपुरमा भनेका थिए, क्यान्सर जितेर आएको छु, अब म स्वस्थ्य भएको छु । उनको संकेत आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी प्रष्टै थियो ।
तर, महाधिवेशनमा संस्थापन समूहका महाधिवेशन प्रतिनिधि, जिल्ला र क्षेत्रीय प्रतिनिधिले अग्रता लिइरहँदा मंगलबार बिहान एक्कासी झट्का लाग्यो, ‘सुशील दा रहनुभएन । दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको महाराजगञ्जमै बिहान १२ बजेर ५० मिनेटमा निधन भएको हो । 
कोइराला परिवारको बिरासत थाम्दै १२ औं महाधिवेशनमा सभापति चुनिएका कोइरालालाई ठूलो जस चाँही संविधान निर्माणको जान्छ । जुन, गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तरार्धमा सुरु भएर थाति रहेको काम थियो । 
सन् १९३८ फेब्रुअरी ३ तारिखमा पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म विराटनगरमा भएको हो । उनका ६ भाइ र एक बहिनी थिए । अविवाहित सुशील वन अधिकृत बाबुसँगै नेपालगन्ज पुगे । त्यसपछि कोइरालाको स्थायी बसोबास उतै भयो ।
दोस्रो संविधानसभामा ठूलो पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए ।
२०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । ०४२ सालको सत्याग्रहदेखि ०४६ र ०६२/६३ को आन्दोलनमा कोइरालाले सक्रिय सहभागिता जनाएका थिए ।
पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशील पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति भएका थिए । कान्तिपुरमा समाचार छ ।